Logo

प्रमुख समाचार

सर्वाेच्चकाे आदेशपछि ‘रिगल’ नेपालगन्जबाट पक्राउ



काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल रिगल पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । बाँकेका एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उनी भर्खरै नेपालगन्जबाट पक्राउ परेका हुन् । उनलाई अब बाँकी कैद भुक्तान गर्न जेल पठाइने प्रहरीले जनाएकाे छ ।

कैद पूरा भुक्तान नगरी सरकारले ज्यान मारेकाे उद्याेगमा जेल जीवन कटाइरहेका रिगललाई आम माफी दिएपछि सर्वोच्च अदालतले आज उक्त निर्णय बदर गरी तत्काल पक्राउ गरेर जेलमा राख्न परमादेश समेत जारी गरेकाे थियाे ।  सर्वाेच्चकाे आदेशलगत्तै पक्राउ गरेर कारागार चलान गर्न प्रहरीले उनको खोजी गरेकाे थियाे।

सरकारले संविधान दिवसका दिन अन्य कैदीसँगै रिगलको बाँकी सजाय माफी दिँदै रिहा गरेको थियो। सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध हत्या गरिएका व्यक्ति चेतन मानन्धरकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटलाई सर्वोच्चले प्राथमिकताका साथ हेरेको थियो। बुधबार सुनुवाइ सकेर बिहीबारका लागि निर्णय सुनाउने समय तोकेको थियो। योगराज ढकाल (रिगल) ले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ।

ढकाललाई नेपालगन्जका चेतन मानन्धरको हत्या गरेको भन्ने कसुरमा अदालतको फैसलाअनुसार ठहर भएको जन्मकैदको सजायमध्ये भुक्तान हुन बाँकी ११ वर्ष ११ महिना ५ दिन (५९.६६ प्रतिशत) कैद सजाय मिनाहा गरिएकाे थियाे । तर सर्वाेच्चले उक्त कदमलाई बदर गरिदिएकाे छ ।

सर्वाेच्चकाे फैसलामा भनिएकाे छ, “उक्त दफा ३७ लाई कानुनी आधारको रुपमा ग्रहण गर्ने हो भने पचास प्रतिशत कैद सजाय भुक्तान नभएको र जन्म कैद सजाय पाएको कसूरदारको हकमा सो बमोमिजको कैद कट्टा सुविधा प्रदान गर्न मिल्ने देखिँदैन । प्रत्यर्थीहरुले लिखित जवाफमा भने कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) समेतको आधारमा कैद कट्टा गरेको भनी जिकिर लिएको पाइयो । कारगार नियमावली, २०२० मा २०७९–९–१८ मा भएको संशोधनबाट उल्लिखित उपनियम (१) र (१ क) खारेज भएको देखिन्छ।”

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १६:४८   :  बजे

762
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।