Logo

अर्थ

एनआरएनए शर्मा पक्षले भूकम्प प्रभावितलाई तत्काल २१ लाख रुपैयाँ सहयोग गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)काे आरके शर्मा पक्षले पश्चिम नेपालमा भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दू बनाएर ६.४ रिक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा डेढसय भन्दा बढीको मृत्यु भइसकेको छ । अहिले पनि उद्धार कार्य जारी रहेको छ ।

एनआरएनएका विद्राेही अध्यक्ष आरके शर्मा र महासचिव बुद्धिसागर सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पपछि भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुकाे छ । साथै सरकारले सुरु गरेको राहत कोषमा २१ लाख रुपैयाँ जम्मा गर्ने अध्यक्ष शर्माले जानकारी दिए ।

उनले भने, ‘एनआरएनको आपतकालिन कोष भए पनि हामीले उक्त कोषबाट एक पैसा पनि नचलाई सबै अभियन्ताबाट संकलन गरेर यो रकम जम्मा गर्ने छौं ।’ साथै थप राहत तथा उद्धारका लागि एनआरएनए तयार रहेको पनि अध्यक्ष शर्माले जानकारी दिए । घटनास्थलमै पुगेर एनआरएनएले उद्धारमा सहभागिता जनाउने बताउँदै उनले केही एनआरएन अभियन्ताहरु भूकम्प प्रभावित क्षेत्र तर्फ गैसकेको र चिकित्सकीय टोलीसहित आफु पनि भूकम्प प्रभावित क्षेत्रमा जान लागेको जानकारी दिए ।

भूकम्प सम्बन्धी सचेतना, जोखिम न्यूनीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना लगायतका काममा संघले नेपाल सरकारसंग सहकार्य गर्ने बताउँदै अध्यक्ष शर्माले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि दिल खोलेर सघाउन तथा आर्थिक लगायतका अन्य आवश्यक सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा संसारभरि रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

यसअघि एनआरएनए बद्री केसी पक्षले भूकम्प पीडितहरूका लागि सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने बताएकाे थियाे ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १८:३२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।