Logo

राजनीति

सर्वदलीय बैठक : शान्ति, संविधान र लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि सबै प्रतिबद्ध



काठमाडौं । प्रमुख राजनीतिक दलहरूले शान्ति, संविधान र लाेकतान्त्रिक गणतन्त्रकाे रक्षाका लागि प्रतिबद्धता जनाएका छन् । सिंहदरबारमा (आज) मंगलबार बसेको सर्वदलीय बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध जनतामा भ्रम र उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्ष निकाल्दै सामूहिक प्रतिवाद गर्ने विषयमा एकमत देखिएका हुन् ।

बैठकपछि माओवादी केन्द्रीकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निकालिएकाे बनाइन् । ‘यदाकदा देखा परेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वसम्मत निष्कर्ष निस्कियो । जीवनभरी लडेका परिवर्तन गरेका नेताहरू गणतन्त्रको रक्षा गर्नेमा प्रतिबद्ध छौं ।’

उनले राजनीतिक परिवर्तनको सापेक्षतामा जनता सन्तुष्ट भने नभएको अहिलेको परिवेशमा दल, सरकारी निकाय र सरोकारवाला बसेर वर्तमान आर्थिक चित्र प्रस्तुत गरी निष्कर्षमा पुर्‍याउने गरी योजना बनाउन प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको बताइन् ।

एमाले सचेतक महेश बर्तौलाले पार्टीले सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै सरकारको कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा राखेको बताए । सरकारका अकर्मण्यताले छाडातन्त्र मौलाएको, गृहप्रशासन कमजोर भएको विषयमा ध्यानाकर्षण गराएको उनले जानकारी गराए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १७:२१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।