काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्रको अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् ।
बालुवाटार पुगेर राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई उनले १४ बुँदे सुझाव दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिएको रास्वपाले जनाएको छ ।
लामिछानले भूकम्प लगत्तै प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका थिए । ‘पार्टीको कार्यक्रमका लागि पाल्पामा रहेको भएतापनि भूकम्पको खबर सुन्ने बित्तिकै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर पाल्पाबाट हामी सिधै जाजरकोट गएका थियौँ । यस निवेदनमा मैले देखेको भूकम्प प्रभावित क्षेत्रको अवस्था र तत्काल गरिनुपर्ने कार्यको सूची तपाईँसमक्ष राखेको छु’, लामिछानेको निवेदनमा भनिएको छ ।
प्राथमिकताका आधारमा सुझावहरु कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा राख्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको रास्वपाले जानकारी गराएको छ । ‘परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्’ भनेर रास्वपा सभापति लामिछानेले आग्रह गर्दा प्रचण्ड गम्भीर भएको रास्वपाले जनाएको छ ।





















प्रतिक्रिया