Logo

पत्रपत्रिका

भूकम्प प्रभावित क्षेत्रमा पीडितलाई गिज्याउने गरी भीआईपीको सवारी



जाजरकोट । सर्वसाधारणको मतले जितेका राष्ट्रपति र प्रधानमन्त्रीलाई बिपत्तिमा परेर गाँस–बासविहीन भएका तिनै सर्वसाधारणबाट केको सुरक्षा चुनौती हुन्छ ?  ठूला दैवी विपत्तिमा सहानुभूति दिन र मनोबल बढाउन राज्य र सरकार प्रमुख पुग्नु राम्रो निर्णय हो । तर, तिनैको स्याहार–चकार र सवारी व्यवस्थापनमा राज्य संयन्त्र अलमलिनुचाहिँ देख्नेकै लागि लाजको विषय हो ।

जाजरकोट र रुकुमपश्चिममा अहिले त्यस्तै भइरहेको छ । भूकम्पपीडितलाई साथ सहयोग गर्ने नाममा राज्यको खर्चमा गएका मन्त्रीदेखि सुरक्षाकर्मीसम्मलाई राष्ट्रपति र प्रधानमन्त्रीको पछि लाग्न भ्याइनभ्याइ छ । राहतको आसमा बसेका पीडित हेलिकप्टरमा राहत होइन, राष्ट्रपति र प्रधानमन्त्री आएको देख्दा ठूलो आशा गर्छन् । तर, तिनले अनुहार देखाउने र सरकारी संयन्त्रलाई अलमल्याउनेबाहेक केही नगर्दा जिल्ल पर्ने गरेका छन् ।

भूकम्पबाट प्रभावित क्षेत्रमा हिजोआज दिनहुँ हेलिकप्टर उडिरहेका छन् । झट्ट हेर्दा पीडितका लागि राहत ओसार्न उडेका हुन् जस्तो लाग्नसक्छ । तर, जाजरकोट र रुकुमपश्चिमको आकाशमा उड्ने ती अधिकांश हेलिकप्टरहरू भूकम्पपीडितका लागि राहत ओसार्न उडिरहेका होइनन्रछैनन् । ती त भूकम्प प्रभावित क्षेत्रमा आउने भीआईपीहरूलाई भ्रमण गराउन उडेका हुन् । प्रभावित क्षेत्रमा हिजोआज राहत सामग्री ओसार्नेभन्दा हेलिकप्टरलाई भीआईपीहरू बोक्न र डुलाउन भ्याइनभ्याइ छ ।

भूकम्पले घरबारविहीन बनेका पीडितहरू खुला स्थानमा रात बिताउन बाध्य छन् । खाद्यान्नको अभावमा छाक टार्न मुस्किल छ। पीडितहरू गाँस र बासको अभावमा छटपटाइरहेका छन् । यस्तो अवस्थामा पीडितलाई समयमै राहत सामग्री उपलब्ध गराउनुको साटो हेलिकप्टरहरू जिल्लामा आउने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद् र राजनीतिक दलका नेताहरू ओसार्नमै अलमलिएका हुन् । यसले प्रभावित क्षेत्रमा पीडितहरूलाई राहत सामग्री उपलब्ध गराउन र भत्किएका घरहरूको उत्खननमा सकस भइरहेको छ । अर्कोतर्फ प्रभावित क्षेत्रमा अवलोकन र निरीक्षणको नाममाभीआईपीहरूको हेलिकप्टर सयरले राज्यको स्रोत र साधनको पनि दोहन भइरहेको छ ।

भीआईपीको सवारी

भूकम्पका कारण घरबारविहीन बनेपछि पीडितहरू टेन्टमा बसेका थिए । जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माविको प्रांगणमा राखिएका टेन्टहरू मंगलबार बिहान एकाएक हटाइयो। राष्ट्रपतिको सवारी हुने भन्दै आफूहरूको ओत लाग्ने टेन्ट सुरक्षाकर्मीले एकाबिहानै हटाएपछि पीडितहरू आक्रोशित बने।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत गर्न भन्दै पीडितका त्रिपाल हटाइएको थियो। राष्ट्रपति सवार हेलिकप्टर अवतरण गर्ने स्थान नभएपछि पीडितहरूका त्रिपाल नै हटाइएको थियो । पीडितका त्रिपाल हटाएर राष्ट्रपतिको धुमधाम स्वागत गरिए पनि पीडितले भने आश्वासनबाहेक केही पाएनन् ।

यतिमात्र होइन राष्ट्रपतिले मंगलबार रुकुमपश्चिम र जाजरकोटका प्रभावित क्षेत्रमा हेलिकप्टरबाट पनि अवलोकन गरे । केही स्थानमा स्थलगत अवलोकन पनि गरे। उनको पछाडि स्वागतमा कर्मचारी र सुरक्षाकर्मीको लावालस्कर नै लाग्यो । तर, तामझाम गरेर भएको राष्ट्रपतिको सवारीले न पीडितले राहत पाए, न त व्यवस्थापनको कुनै ठोस योजना बन्यो । बरु राष्ट्रपतिको यो भ्रमणका कारण पीडितले सास्ती भोगे । राहत र व्यवस्थापनमा खट्नुपर्ने कर्मचारी तथा सुरक्षाकर्मीको पनि समय खेर गयो । राष्ट्रपति फिर्ता भएपछि पीडितहरूले हेलिकप्टर बसाल्न हटाइएका त्रिपालहरू पुनः टाँगे ।

राष्ट्रपतिको भ्रमण मात्र होइन, भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा आउने मन्त्री, सांसद र नेताहरूले आफूहरूलाई गिज्याउने काम गरिरहेको पीडितको गुनासो छ । राहत र व्यवस्थापनमा ध्यान दिनुको साटो भीआईपीहरूले हेलिकप्टरमा घुमेर आफूहरूको पीडामा अरू पीडा थप्ने काम गरिरहेको पीडितको दुखेसो छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार ०८:१९   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।