Logo

प्रमुख समाचार

राष्ट्रिय सभाका अध्यक्षसहित यी २० सदस्यको पदावधि फागुन २० मा सकिँदै, निर्वाचनकाे तयारी



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको पद फागुन २० गते रिक्त हुँदै छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तयारीस्वरूप आयोगले मतदाताको मतभार सम्बन्धमा हिसाब गरेर पठाइदिन राष्ट्रिय तथ्याङ्क कार्यालयलाई बिहीबार पत्राचार गरेको जानकारी दिए । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा प्रदेश सभा सदस्य र पालिकाका प्रमुख एवं उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ मा पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी सरकारले मिति तोक्ने व्यवस्था छ । जस अनुसार सरकारले माघ दोस्रो साताभित्र निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्नुपर्ने छ ।

कानुनले मतदान हुने दिनसम्ममा १२० दिन पुग्ने गरी निर्वाचनको मिति घोषणा हुनुपर्ने व्यवस्था गरेको छ तर कानुनबमोजिम नै निर्वाचनको मिति घोषणा भए आयोगसमक्ष अब करिब ७५ दिन मात्रै बाँकी रहन्छ ।

ऐनमा प्रत्येक प्रदेशमा गठन हुने निर्वाचकमण्डलले गोप्य मतदानद्वारा सदस्य चयन गर्ने व्यवस्था छ । निर्वाचकमण्डलमा प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहने छन् । प्रदेश सभा सदस्य र पालिकाका प्रमुख, उपप्रमुखको मतभार फरक हुन्छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार निर्वाचनको मिति घोषणा भएलगत्तै सङ्घीय संसद् सचिवालयले रिक्त भएको पदबारे आयोगलाई जानकारी गराउने छ । प्रदेश सभा सचिवालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको सङ्ख्यालगायतबारे अद्यावधिक विवरण पठाउने छन् ।

आयोगका अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सदस्य अनिता देवकोटा, इन्दु कडरिया, खिमलाल देवकोटा, खिमलाल भट्टराई, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चापागाईं, नरपति लुवार, प्रकाश पन्थ र प्रमिला कुमारीको सदस्य पद रिक्त हुँदै छ । त्यसै गरी भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजङ्ग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा. विमला राई पौड्याल, सिङ्गबहादुर विश्वकर्मा र हरिराम चौधरीको छ वर्षे पदावधि सकिँदै छ ।

प्रकाशित मिति : कार्तिक २५, २०८० शनिबार  ८ : २४ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।