विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक दलहरूकै कारण गणतन्त्रमाथि प्रश्न चिह्न खडा भएकाे बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूको संवादमा नेता कोइरालाले जनताले गणतन्त्रका लागि आन्दोलन गरे पनि नेता र दलहरूले त्यो कुरा बिर्सिएर भ्रष्टाचार र दण्डहीनतालाई बढवा दिनतिर लागेको बताए ।
‘गणतन्त्रका लागि आन्दोलन गर्यौं, प्राप्त गर्यौं । तर अहिले के का भन्ने कुरा हामीले बिर्सियौं । भ्रष्टाचार गर्नलाई गणतन्त्र ल्याएको हो कि, दण्डहीनतालाई बढाउनलाई गणतन्त्र ल्याएको हो ?’ डा कोइरालाले भने, ‘ यी कुराबाट जनता आजित भएका छन्, निराश भएका छन् ।’
नेता कोइरालाले गणतन्त्र आफैँमा खराब नभएको राम्रो व्यवस्था रहेको जिकिर गरे । तर, राजनीतिक दलहरूको कारणले गणतन्त्रमा प्रश्न चिह्न लागेको उनको भनाइ छ । प्रधानमन्त्रीको अभिव्यक्तिका कारण समेत मानिसहरू निराश भएको उनकाे टिप्पणी थियाे ।
‘मिडियाले सरकारको विरोध गरेन भने सरकार कसरी अघि बढ्छ ? सरकारले त सुधार्दै जानुपर्यो नि त,’ कोइरालाले भने, ‘सरकार अराजक भएर बोल्दै जाने, प्रधानमन्त्री जीले विराटनगरमै आएर तपाईँहरू हामीलाई भोट दिनुस्, हामी जातीय राज्य दिन्छौं भन्नुभयो, यस्तो अराजक हिसाबले बोल्न थालेपछि मान्छे निराश हुन्छ ।’
मुलुकको राजनीतिक निकासका लागि नेतृत्व लिन आफू जहिले पनि अगाडि हुने बताए । तर, त्यसका लागि समय लाग्ने पनि उनले बताए ।कोइरालाले नियमन गर्ने बाटो बाँकी हुँदाहुँदै सरकारले टिकटक बन्द गरेको आरोप लगाए । सरकारले कुनै पनि अध्ययन अनुसन्धान नै नगरी टिकटक बन्द गर्ने पक्षमा लागेको दाबी गरे ।
‘धेरैले बन्द गर्नुपर्छ भनेर भनेका छन्, तर म चैँ बन्द गर्नुपर्छ भन्ने पक्षको मानिस होइन, म नियमन कसरी गर्न सकिन्छ भन्ने पक्षमा छु,’ उनले भने, ‘अरू देशहरूले कसरी नियमन गरेका छन् हेरौँ, अमेरिकामा सामाजिक सञ्जालहरू अफिस आवरमा चलाउन पाइँदैन, हामीले पनि त्यस्तै गरे हुन्छ ।’ नियमन गर्ने बाटो हुँदाहुँदै तिहारको मुखमा टिकटक बन्द गर्नु सरकारको गैर जिम्मेवार कार्य भएको दाबी गरे ।
कोशी प्रदेशको प्रसङ्गमा बोल्दै नेता कोइरालाले आफू सहमतिकै सरकार बनोस् भन्ने पक्षमा रहेको बताए । सहमतिकै सरकारका लागि आफूले एमालेलाई पनि सम्झाउँदै आएको जानकारी दिए ।




















प्रतिक्रिया