काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । एमालेकाे जनसंगठन समन्वय संयन्त्रले पार्टी मुख्यालयमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले अहिले पनि राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गरेको आरोप लगाएका हुन् ।
भूकम्पपछि प्रधानमन्त्री र गृहमन्त्री माओवादीको प्रतिनिधिको रुपमा जाजरकोट पुगेको भन्दै ओलीले राष्ट्रपति पौडेल पनि जाजरकोटमा कांग्रेस छुट्यो भनेर आफैं गएको टिप्पणी गरे । ‘राष्ट्रपति किन जानुभएको ? कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नुभएको थियो । टेलिभिजन हेर्नु नै भएको थियो । कति घर भत्कियो भनेर सुन्नुभएकै थियो । कति के भयो भन्ने सुन्नुभएकै थियो, उनले भने, ‘अनि, माओवादी गए भनेर कांग्रेस भएर किन जानुपर्यो राष्ट्रपतिज्यू ? उहाँ राष्ट्रपति भएर त्यहाँ जानुभएन । त्यहाँ कांग्रेस छुट्यो भनेर जानुभयो ।’
राष्ट्रपति निर्वाचित भएको एक वर्ष नपुग्दै राष्ट्रपतिले पक्षधरता देखाएको भन्दै ओलीले तनहुँमा दिएको अभिव्यक्तिले पनि कांग्रेसप्रति नरम देखिएको दाबी गरे । ‘राष्ट्रपतिज्यूले तनहुँमा गएर घण्टीको यत्रा बिगबिगी भएको बेला कांग्रेसलाई भोट दिएकोमा मतदातालाई म धन्यवाद दिन्छु भन्ने भाषा बोल्नुभयो । कांग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा उहाँले धन्यवाद दिनुभयो । कति निष्पक्ष राष्ट्रपति होला । उहाँको निष्पक्षताको त कुरे नगरौं’, उनले भने, ‘एक वर्ष पुग्नुभन्दा अगाडिनै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरु देखाइसक्नुभएको छ । अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलब छैन ।’




















प्रतिक्रिया