काठमाडौं । दुर्गा प्रसाईँ नेतृत्व समूह र नेकपा एमालेनिकट युवा संघलाई माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिइने भएकाे छ । मङ्सिर ७ मा दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएपछि तनावकाे स्थिति सृजना हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुबै पक्षलाई कार्यक्रम गर्न राेक लगाएकाे हाे ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको छ । प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ भने युवा संघले पनि ठूलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।
दुवै समूह माइतीघरमा आमने–सामने हुने भएपछि गृह प्रशासनले सो क्षेत्रमा ‘झडप’ हुने आकलन गर्दै त्यहाँ कार्यक्रम गर्न रोक लगाएर ‘निषेधाज्ञा’ लगाउने तयारी गरेको छ । आइतबार गृह मन्त्रालयमा दुईवटा समूहलाई एकै ठाउँमा कार्यक्रम गर्न दिन नहुने बारे छलफल भएको थियो ।
प्रतिक्रिया