काठमाडौं- सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीशमध्ये न्याय परिषद् बैठकले ६ जनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले सर्वोच्चको न्यायाधीश नियुक्तिको सिफारिसको टुङ्गो लगाएको हो।
बैठकले उच्च अदालतका न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतमा बसेको बैठकले दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको कोटामा एक/एक जनासहित ६ जनाको नाम सिफारिस गरेको हो। माओवादी कोटामा भने पार्टीभित्र कुरा मिल्न बाँकी छ। त्यसैले एउटा कोटा रिक्त राखेर न्याय परिषद् बैठकले नाम सिफारिस गरेको जनाएको छ।
माओवादीबाट महान्यायाधिवक्ता दीनमणि पोखरेल र डीएन पराजुलीको नाम चर्चामा छ। तर, टुङ्गो भने लगाउन सकेको छैन।
न्यायाधीश सिफारिस भएमध्ये वरिष्ठ अधिवक्ता सुनिल पोखरेल नेपाली कांग्रेस निकट हुन् भने बालकृष्ण ढकाल एमाले निकट हुन्।
पोखरेल नेपाल डेमोक्रेटिक लयर्स एसोसियसनका तर्फबाट नेपाल बारको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। ढकाल एमाले निकट प्रगतिशील कानुन व्यवसायीको सदस्य हुन्। दुवै जना गतवर्ष वरिष्ठ अधिवक्ता भएका थिए।
न्याय परिषद्ले गरेको न्यायाधीश सिफारिसअनुसार नहकुल सुवेदीपछि प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहनेगरी सर्वोच्च अदालतको न्यायाधीशमा टेकप्रसाद ढुंगानाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले नहकुल सुवेदीपछि करिब ६ महिना प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहनेगरी ढुंगानाको नाम सिफारिस गरेको छ।




















प्रतिक्रिया