Logo

खेलकुद

राष्ट्रिय टीममा राम्राे प्रदर्शन गर्दै आएका गुलशनले यू-१९ टोलीबाट एशिया कप खेल्ने 



काठमाडौं । नेपाली सिनियर टोलीमा राम्राे प्रदर्शन गरिरहेका युवा अलराउन्डर गुलशन झाले नेपालको यू–१९ टोलीबाट एसिया कप खेल्ने भएका छन् । यू-१९ टोलीले टियु मैदानमा एसिया कपको लागि प्रशिक्षण गरिरहेकाे छ । गुलशन पनि यू–१९ टोलीको बन्द प्रशिक्षणमा छन् ।

गुलशन टोलीमा फर्किँदा नेपाली यू-१९ टोली मजबुत बन्नेछ । गुलशनले २०२१ मा नेपालबाट यू–१९ एसिया कप खेलेका थिए । गत वर्ष आईसीसी यू–१९ विश्वकप एसिया छेत्र छनोटको लागि सुरुमा गुलशनलाई कप्तान बनाइएको थियो । तर सिनियर टोलीमा पनि उनी रहेका कारण उनले खेलेनन् ।

गुलशनले २४ ओडीआई र १४ टी–२० आई खेल खेलेका छन् । उनले तल्लो क्रममा राम्रो ब्याटिङका साथै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । बायाँ हाते ब्याटर गुलसनले तेस्रो नम्बरमा पनि खेल्दै आएका छन् । तल्लोक्रमा उनले ठूलो सर्टको क्षमता राख्छन् । पछिल्लो एक वर्षमा नियमित नेपाली टोलीबाट राम्रो गर्दै आएका छन् ।

जसको कारण यू–१९ टोलीले ठूलो अपेक्षा उनीबाट गर्नेछ । आईसीसी विश्वकप लिग २, विश्वकप छनोट, एसीसी प्रिमियर कप, एसिया कप, एईसी इमर्जिङ टिम्स एसिया कप र आईसीसी टी–२० विश्वकप एसिया छेत्र छनोट जस्ता प्रतियोगिता उनले खेलेका छन् ।

उनले भारत, पाकिस्तान, जिम्बाबे, वेस्ट इन्डिज, आयरल्यान्ड लगायतका टेस्ट टोलीविरुद्ध खेलेका छन् । यू–१९ एसिया कप र विश्वकप दुबैमा नेपालले बलिया टोलीसँग खेल्नेछ । गुलशन र देव खनालसँग सिनियर टोलीको अनुभव हुँदा नेपालले ठूलो अपेक्षा राख्नेछ । पछिल्लो एक वर्षमा देवले यू–१९ मा तीन शतक हानीसकेका छन् ।

यू–१९ एसिया कप ८ देखी १८ डिसेम्बरसम्म यूएईमा हुनेछ । समूह ए मा नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् ।

नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग आईसीसी एकेडेमी ओभल २ मा खेल्नेछ भने  दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ११:५३   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।