Logo

राजनीति

ओली भन्छन्– ‘जन्मँदैखेरि कोही राजा हुने कुरा अबको सचेत जनताले कदापि स्वीकार्दैनन्’



काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मँदैखेरि कोही राजा हुने कुरा कदापि स्वीकार नहुने बताएका छन् । पछिल्लाे समय गणतन्त्रविरुद्ध भइरहेकाे विभिन्न आदाेलनहरूप्रति संकेत गर्दै उनले सरकारले नराम्रो काम गर्दैमा गणतन्त्र खराब नहुने र ढुङ्गे युगतिर फर्किन नसकिने उल्लेख गरे ।

शनिबार काठमाडौँमा नेपाल संवतका अवसरमा आयाेजित कार्यक्रममा ओलीले भने, ‘जनताभन्दा एउटा व्यक्ति ठूलो हुने कुरा, एउटा परिवार हुने कुरा अबको सचेत जनताले स्वीकार्न सक्दैनन् । अबको नयाँ पिँडीले यस्ता कुरा स्विर्कान सक्दैन । हामीले बलिदान दिएर ल्याएका उपलब्धिको रक्षा गर्नुपर्दछ ।’

ओलीले आफू ५८ वर्षदेखि देशका लागि जेलनेल र यातना सहेको मान्छे भएको हुनाले आफू एमालेको नेता मात्र नभई देशकै मान्छे भएको दाबी गरे । उनले प्रश्न गरे, ‘माओसेत्सुङ चीनको एउटा पार्टीको नेता हुन कि सिङ्गै चीनको नेता हुन ? जवहरलाल नेहरु वा मोदी तिनका पार्टीका नेता हुन कि सिंगो भारतको हुन ? त्यसकारण हामीले यो भ्रम राख्नु हुँदैन ।’

ओलीले देशलाई अस्थिरतामा फसाउने खेल भइरहेको पनि उल्लेख गरे । उनले भने, ‘हाम्रा जनतालाई पहिचानका नाममा, जातका नाममा अनेक नाममा विभाजित गर्ने काम भइरहेको छ । झगडा लगाउने प्रयास भइरहेको छ । द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ । केही समय अघि हिन्दु र मुसलमानका बिचमा लडाइँ लडाउने प्रयास भयो । त्यसमा असफल भए । त्यसपछि अरू असान्दर्भिक कुरा ल्याएर जनतालाई अलमल्याउने काम भइरहेको छ ।’

अहिलेको सरकारले काम गर्न नसकेको बताउँदै उनले देशलाई र राजनीतिलाई अराजकतातिर लगेको बताउँदै सरकारले अराजकतालाई नियन्त्रण नगरी प्रोत्साहित गर्ने काम गरेको पनि दाबी गरे । उनले राष्ट्रपतिले छानी छानी गुन्डाहरूलाई माफी दिने गरेको टिप्पणी पनि गरे ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार १८:१५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।