काठमाडौं । अष्ट्रेलिया विरुद्धको दोस्रो टी-२० क्रिकेटमा भारत ४४ रनले विजयी भएको छ । पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतीमा २ सय ३५ रनको शानदार योगफल तयार गरेको थियो । सुरुवाती ब्याट्सम्यानले शानदार प्रर्दशन गरेपछि भारतले अष्ट्रेलिया समक्ष ठुलो रन बनाउन सकेको हो । यस सिरिजमा टीम इन्डियाले २–० को अग्रता लिएको छ ।
भारतीय टोलीका ओपनर यशस्वी जैसवालले २५ बलमा ९ चौका र २ छक्काको मद्दतले ५३ रन बनाए । जैसवाल र ऋतुराजबीच ५.५ ओभरमा ७७ रनको साझेदारी भयो । ऋतुराज गायकवाड र इशान किशनले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे । इशान किशनले पनि अर्धशतकीय पारी खेले ।
उनले ३२ बलमा ३ चौका र ४ छक्का सहित ५२ रन बनाए । अन्तिम ओभरमा ऋतुराज गायकवाडलाई कप्तान सूर्यकुमार यादवले साथ दिए । यस क्रममा गायकवाडले आफ्नो अर्धशतक पूरा गरे भने सूर्यकुमार यादवले १९ रनको इनिङ खेले ।
ऋतुराज गायकवाडले ३ चौका र २ छक्का सहित ५८ रनको उत्कृष्ट इनिङ खेले । अन्त्यमा रिंकु सिंहले पनि ९ बलमा ३१ रन बनाए । रिंकु सिंहले आफ्नो छोटो पारीमा ४ छक्का र २ चौका प्रहार गरे । २३६ रनको लक्ष्य पछ्याएको कंगारु टोलीले तीव्र सुरुवात गरेको थियो ।
पहिलो विकेटका लागि म्याथ्यु सर्ट र स्टिभ स्मिथले ३ ओभरमा ३५ रन जोडेपनि रवि बिश्नोईले सर्टलाई आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए ।
यसपछि अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् र ५८ रनमा ४ विकेट गुमाए । स्मिथले १९ रन, जोस इंग्लिसले २ र म्याक्सवेलले १२ रन बनाए । टिम डेभिड र मार्कस स्टोइनिसबीच पाँचौं विकेटका लागि ८१ रनको साझेदारी भयो । मार्कस स्टोइनिसले ४५ रनको शानदार इनिङ खेले भने टिम डेभिड ३७ रन बनाएर प्याभिलियन फर्किए ।
अन्तिम ओभरमा कप्तान म्याथ्यु वेडले एक छेउमा उभिएर ४२ रनको विस्फोटक इनिङ खेले तर लक्ष्य धेरै टाढा रह्यो । भारतका लागि प्रसिद्ध कृष्ण र रवि बिश्नोईले ३–३ विकेट लिए भने अक्षर पटेल, मुकेश कुमार र अर्शदीप सिंहले १–१ विकेट लिए ।




















प्रतिक्रिया