Logo

अर्थ

कोशी : बजेटप्रति सत्तारुढ सांसद नै असन्तुष्ट



विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा सांसदहरूले असन्तुष्टि जनाएका छन् । असन्तुष्टि जनाउनेमा मुख्यमन्त्रीकै दल नेपाली कांग्रेसका सांसद पनि छन् भने नेकपा एमाले र राप्रपाका सांदसहरूले पनि असन्तुष्टि जनाएका छन् ।

गत असारमा तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले मुख्यमन्त्री केदार कार्कीप्रति असन्तुष्टि जनाएका हुन् ।

मंगलबारको प्रदेशसभा बैठकमा कांग्रेस सांसद गोपाल तामाङले बजेट वितरण असमान भएकाे बताए । उनले आफ्ना क्षेत्रका १३ वटा योजना काटिएकाेप्रति असन्तुष्टि जनाए । यद्यपि उनले अहिलेको बजेट पास गर्न आग्रह भने गरे ।

कांग्रेसकै गोबिन्द गिरीले पनि सरकारले आफ्ना क्षेत्रका योजना कटौती गरेको गुनासो गरे । कांग्रेसकै सांसद सदानन्न मण्डलले आफूपनि केही हदसम्म असन्तुष्ट रहेको बताए । आफ्ना केही योजना छुटेको उनको भनाइ थियाे ।

कांग्रेसकै शोभा चेम्जोङले कडा रोग लागेका विरामीलाई प्रदेश सरकारले गर्दै आएको सहयोग कटौती गर्नु गलत भएको बताइन् । सांसदहरुको गुनासो सम्बोधन गर्न बजेट संशोधन गरेर भएपनि जानुपर्ने उनले बताइन् ।

कांग्रेसका खगेनसिंह हाङ्गामले मुख्यमन्त्रीले बजेटमाथि अन्धाधुन्ध डाडुपन्यु चलाएको आरोप लगाए । ‘केहीसमय अगाडि पाकेको खाना थियो, पछि उहाँले (मुख्यमन्त्री) बासी खानामा तातो खाना मोलेर अन्धाधुन्ध डाडु पन्यू चलाउँदाखेरि केही मिश्रण राम्रो भएन होला, त्यसैले सोचजस्तो स्वादिष्ट भएन’, उनले भने, ‘स्वाद नआएपछि असन्तुष्टि हुन्छ तर यसलाई सहर्ष स्वीकार्नुपर्छ ।’

कांग्रेस सांसद प्रदीप सुनुवारले बजेटप्रति सांसदहरुले उठाएको गुनासो जायज भएको बताए । प्रदेशसभामा बजेट प्रतिस्थापन विधेयकमाथि सोमबारदेखि छलफल सुरु भएको हो । यो विधेयक बुधबार पारित गर्ने तयारी छ ।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले मुख्यमन्त्रीले यसअघि गरेको सहमति उल्लङ्घन गरेको बताए । ‘बजेट निश्चित क्षेत्रमा केन्द्रित छ, हामीले दिएको योजनालाई बेवास्ता गरिएको छ’, उनले भने, ‘बजेट कसैको गोजीबाट मागेको कुरा होइन, आफ्नो झोलाबाट दिनेजस्तो ठान्नुपर्दैन ।’

मुख्यमन्त्रीले २५ लाख रुपैयाँ भन्दा कमका योजना नराख्ने भनेर आफ्नो क्षेत्रका साना बजेट कटौती गरेकामा सिटौलाले असन्तुष्टि जनाए ।

एमाले संसदीय दलका उपनेता राम रानाले सांसदले छनोट गर्ने योजनामा मुख्यमन्त्रीले सहमति उल्लंघन गरेको बताएका थिए । कोशीमा प्रदेशसभा सदस्यको योजनाका लागि डेढ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट प्रत्येक क्षेत्रका सांसदका योजनामा डेढ करोड रुपैयाँ पर्ने गरी विनियोजन गर्ने सहमति भएको उनको भनाइ थियो । तर मुख्यमन्त्री कार्कीले बजेट कम दिएको र योजना पनि आफुखुशी छनोट गरेको आरोप लगाए ।

एमाले सांसद लिलाबल्लभ अधिकारीले मुख्यमन्त्रीले गाइजात्रा प्रस्तुत गर्न खोजेको टिप्पणी गरे । अमरदहदेखि डाइनिया सिक्टीसम्मको सडक अलपत्र हुँदा पनि बजेट विनियोजन नगरी अर्कै सडकलाई बजेट हालिएको भन्दै उनले असन्तुष्टि जनाए ।

अर्का सांसद रामप्रसाद महतोले पनि मुख्यमन्त्रीले आफूखुसी बजेट कटौती गरेको बताए । सांसदले सुझाव दिएको योजनाहरु मुख्यमन्त्रीले हटाइदिएको उनको गुनासो छ ।

सांसद उमाकान्त गौतमले मुख्यमन्त्रीबाट सांसदको हुर्मत लिने काम भएको बताए ।  सांसद होमबहादुर थापाले बजेट सच्याउन आग्रह गरे । रोहितबहादुर कार्कीले सांसदले पेश गरेको योजनालाई निरन्तरता दिन मुख्यमन्त्रीलाई आग्रह गरे ।

सांसद बिजयकुमार राईले बजेट फिक्सिङ भएको हुनसक्ने बताए । सांसद एकराज कार्कीले बजेटले सांसदमा निराशा आएको बताए । एमालेकै सांसद मीना श्रेष्ठले यसअघि समावेश भएका योजनालाई कटौती गरेको बताउँदै बजेटलाई सच्याउन आग्रह गरिन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १८:३५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।