Logo

प्रमुख समाचार

एनसेलको सेयर खरिद–बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीकाे निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर बिक्रीका सम्बन्धमा अध्ययन गर्न निर्देशन दिएका छन् । सोमबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा यसबारे गम्भीर चासो व्यक्त गर्दै प्रचलित कानूनी प्रावधानको पालना भए नभएको विषयमा अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेकाे बताए ।

उनले भने, ‘सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवम् यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिइसकेको छु ।’

यो विषय नेपाल दूरसञ्चार प्राधिकरण र कर प्रणालीसँग जोडिएकोले अध्ययन नगरी अघि नबढ्ने उनले बताए । ‘यसको अध्ययनका लागि टिम बन्छ अनि मात्र अघि बढ्छ । मैले मुख्य सचिवलाई मैले यससम्बन्धी निर्देशन दिएको छु,’ उनले भने ।

मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने जानकारी गत शुक्रबार दिएको थियो ।

आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६५ करोडमा स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १९:२९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।