Logo

प्रमुख समाचार

टिकटकमा प्रतिबन्ध लगाएपछि फेसबुक, ट्विटर सम्बद्ध संस्थाले पठायो सञ्चारमन्त्री शर्मालाई पत्र



काठमाडाैं । एसियन इन्टरनेट कोलिसन (एआइसी) ले नेपालमा डिजिटल प्लेटफर्महरूमा भएको प्रतिबन्धबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ।

टिकटक बन्द र सामाजिक सञ्जाल नियमन गर्न ल्याइएको निर्देशिकामा उल्लिखित केही प्रावधानबारे ध्यानाकर्षण भएकाे जनाउँदै एआइसीले सञ्चारमन्त्री रेखा शर्मालाई पत्र पठाएको हो। उसले डिजिटल प्लेटफर्मलाई लिएर नेपाल सरकारले गरेका निर्णयहरू विश्वव्यापी अभ्यासविरूद्ध रहेको भन्दै त्यसबारे सँगै बसेर छलफल गर्न मन्त्री शर्मासँग अनुरोध गरेको छ।

एआइसीमा प्रविधि तथा सञ्चारको क्षेत्रमा काम गर्ने विश्वका प्रतिष्ठित कम्पनीहरू फेसबुक, ट्विटर, अमेजन, एप्पललगायत सदस्य छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दूरसञ्चार प्राधिकरणलाई समेत बोधार्थ दिएर पठाइएको पत्रमा एआइसीले मुख्य चार वटा विषयहरूबारे उल्लेख गर्दै पत्र पठाएकाे हाे । उसले परामर्श प्रक्रियाकाे आवश्यकता, सरोकारवालाहरूसँगको छलफलबारे आवश्यक, सामाजिक सञ्जाल नियमन गर्न ल्याएको प्रावधानबारे छलफल र सामाजिक सञ्जाल बन्दबारे सरकारी निकायसँग खुलेर छलफल गर्नुपर्ने भएकाे पत्रका उल्लेख गरेकाे छ ।

एआइसीले नेपाल सरकारले सरोकारवालाहरूसँग छलफल नै नगरी सामाजिक सञ्जाल नियमन निर्देशिका ल्याएकाे भन्दै ध्यानाकर्षण गराएको छ। एआइसीले डिजिटल प्लेटफर्म, त्यसको सञ्चालन र नियमनबारे सरोकारवालासँग छलफल गर्न सुझाएको छ।

त्यस्तै एआइसीले सामाजिक सञ्जाल नियमन गर्न सरकारले ल्याएको निर्देशिकामा मन्त्रालयमा सामाजिक सञ्जाल दर्ता हुनुपर्ने प्रावधानबारे पनि प्रश्न उठाएको छ। यसले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी निरूत्साहित गर्ने र डिजिटल नेपालको लक्ष्यमा अवरोध हुनसक्ने बताएको छ।

साथै, टिकटक बन्द गरेसँगै नेपाल सरकारले अन्य डिजिटल प्लेटफर्म पनि बन्द गर्ने सक्ने भन्दै एआइसीले कानुनी आधारबिना यसरी बन्द गरिनु विश्वव्यापी मान्यताविरूद्ध हुन जाने भन्दै मन्त्री शर्माको ध्यानाकर्षण गराएको छ। उसले यी सबै विषयहरुबारे छलफल हुनुपर्ने माग राखेकाे छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १७:१४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।