Logo

अर्थ

अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले लामो समयको प्रयासपछि अर्थतन्त्रमा सुधार देखिन थालेको बताए । बैंकको ब्याजदर घट्नु र राजस्व संकलनमा सुधार देखिनु अर्थतन्त्रमा सकारात्मक संकेतको लक्षण भएको उनको भनाई छ ।

कोभिड महामारी, रुस-युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणहरुले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि नीतिगत रु मौद्रिक पहल आफूले गरेको मन्त्री महतको दाबी छ ।

चालू खातामा ५९ अर्ब बचत रहेको छ । बिदेशी मुद्रातर्फ १२ अर्ब ३३ करोड डलर सञ्चित छ । यस अवधिसम्म ९ लाख भन्दा धेरै पर्यटक नेपाल भित्रनु पनि सुधारको संकेत भएको उनले बताए । तर यतिमा नै खुसी भएर बस्न नहुने बताउँदै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पहल गर्नु पर्ने उनले बताए ।

यसबाहेक मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा समेत सुधार देखिएको मन्त्री महतले बताए । ‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले भने, ‘मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । जग्गा कारोबार पनि बढ्दै छ ।’

मन्त्री महतले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले कार्यान्वयनको क्रममा रहेको भन्दै सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको बताए ।

अर्थमन्त्री महतले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच उच्चस्तरीय छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश:  खुकुलो बनाउँदै लगिएको बताए । ‘हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको छ । सार्वजनिक संस्थान सुधारका लागि निजीकरण समितिलाई क्रियाशील बनाई काम अगाडि बढाइएको छ,’ उनले बताए ।

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १२:१७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।