काठमाडौं- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग बराबरी खेलेको छ।
सिटीले क्रिस्टल प्यालेससँग २ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको छ।
सिटीले खेलको २४औं र ५४औं मिनेटमा गोल गरी अग्रता बनाएकोमा खेलको अन्त्यतिर क्रिस्टल प्यालेस बराबरी गर्न सफल भयो। उसले खेलको ७६औं र इन्जुरी समयमा गोल गर्यो। बराबरीपछि सिटी १७ खेलमा ३४ अङ्कसहित चौथो स्थानमा नै छ।
क्रिस्टल प्यालेस समान खेलमा १७ अङ्कसहित १५औं स्थानमा छ।
अन्य खेलमा टोटनहमले नटिङ्घम फरेस्टलाई र चेल्सीले सेफिल्ड युनाइटेडलाई, एभर्टनले बर्नलीलाई २–० गोलले हराएको छ। त्यस्तै, न्युक्यासलले फुलहमलाई ३–० गोलले हरायो।
बर्नमाउथ र लुटन टाउनबीचको खेलमा लुटन टाउनका कप्तानलाई खेलकै क्रममा हृदयघात भएपछि खेल एक/एकको बराबरीकै अवस्थामा रोकिएको छ। क्लबले कप्तानको अवस्था सुधारउन्मुख रहेको जनाएको छ।




















प्रतिक्रिया