काठमाडौं- विश्वभर कोभिड–१९ को नयाँ भेरिएन्ट तीब्रगतिमा फैलिरहेको छ। कोरोनाको ‘जेएन–१’ भेरिएन्ट तीब्रगतिमा फैलिरहेको हो।
उक्त भेरिएन्ट बढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउन जनस्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्।
भारतीय सञ्चारमाध्यम हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा पछिल्लो २४ घण्टामा ३०० जनामा संक्रमण पुष्टि भएको छ। भारतमा तीन जनाले ज्यान गुमाइसकेका छन्। जेएन–१ नामक नयाँ भेरिएन्ट चीन, अमेरिका, बेलायत लगायतका देशमा पनि पुष्टि भएको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने स्वास्थ्य विज्ञहरूको चिन्ता छ। त्यसैले उच्च स्वास्थ्य सावधानी अपनाउन उनीहरूले आग्रह गरेका छन्।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जेएन–१ भेरियन्ट पहिलो पटक सेप्टेम्बर अमेरिकामा पत्ता लागेको थियो। यो ओमिक्रोन भेरिएन्टको ‘सब भेरिएन्ट’ हो।
विश्व स्वास्थ्य संगठनले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनेको छ र, विश्वव्यापी रुपमा फैलन सक्ने बताएको छ। भारतमा संक्रमण पुष्टि भएकाले नेपाल पनि त्यसको उच्च जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरूको चिन्ता छ।
खुला सीमा नाकाका कारण निर्वाद नेपाल-भारत आवागमन हुने भएकाले संक्रमणको उच्च जोखिम हुने बताइएको छ।
सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले कडा खालको रुवाखोकी र ज्वरोका बिरामी बढ्दै गएकाले जेएन–१ नेपालमा फैलिएको हुनसक्ने आंकलन गरे। संक्रमण फैलिएको हुनसक्ने भए पनि त्यसबारेमा कुनै अनुसन्धान नभएको उनको भनाइ छ।
संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम हुने विज्ञहरुको विश्लेषण छ। वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउनसक्ने जोखिम भने उच्च रहेको बताइएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्त डा. प्रकाश बुढाथोकी नागरिकले मापदण्डको पालना गर्नुपर्ने बताउँछन्। नयाँ भेरिएन्टका विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ।




















प्रतिक्रिया