काठमाडौं- जीवनमा सफलता हासिल गर्न आफ्नो कामलाई प्राथमिकता दिँदै कर्ममा निष्ठावान हुनुपर्छ। जो काममा केन्द्रित हुन्छ, त्यही जीवनमा सफल हुने हो।
त्यस्तै सफलताकी उदाहरण बनेकी छिन्, मैतिदेवीकी कमला थापा। रातोपुलदेखि ज्ञानेश्वर आउने बाटोमा एउटा सानो गल्ली छ। सोही गल्लीको दुई घरपछि दायाँ साइडमा एक सानो साइन बोर्ड छ। जसमा अङ्ग्रेजी अक्षरमा लेखिएको छ, थापा ट्रेर्डस लेडिज एण्ड जेन्स सेन्टर, मैतिदेवी काठमाडौं।
बोर्डको नजिकै बिक्री गर्नको लागि केही सिलाइएका लुगाहरू राखिएका छन्। बोर्डदेखिभित्र हेर्ने हो भने त्यहाँ एक महिला लुगा सिलाइरहेकी भेटिन्छिन्। उनी हुन्, कमला ट्रेर्डसकी सञ्चालिका कमला थापा।
भनिन्छ, जीवन संर्घष हो। संघर्ष गर्नेहरू नै सफलता हासिल गर्छन्। कमलाले लुगा तुर्पाइ गर्दै त्यसैमा सफलता खोजिरहेकी हुन्छिन्। उमेरले पाँच दशक नाघेकी कमलाको जीवन संर्घषमय छ। ५ वर्षकै उमेरदेखि उनले जीवन संघर्ष थाल्नुपर्यो।
इलाम घर भएकी कमला सात भाइबहिनी मध्येकी जेठी छोरी हुन्। उनको परिवार खेतीपातीमा निर्भर थियो। उनले कक्षा दुईसम्म मात्रै अध्ययन गर्ने मौका पाइन्। भाइबहिनी स्कुल जान थालेपछि उनको स्कुल छुट्यो। भाइबहिनीको स्याहारमा आमालाई सघाउँदै उनका दिन वित्नथाले।

कमलाको उमेर बढ्दै गएसँगै उनका भाइबहिनीहरू पनि बढ्दै गए। समयक्रमसँगै उनलाई पनि आफूले केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो। विद्यालय जान नपाएर आफूले धेरै कुरा गुमाएछु कि जस्तो पनि लाग्न थाल्यो ।
२० वर्षको भएपछि भने उनलाई सिलाइ भए पनि सिक्छु भन्ने लाग्यो। काठमाडौं बानेश्वरमा उनका ठुलाबुबाका छोराहरू सिलाइकटाईकै व्यवसाय गरेर बसेका थिए। उनी पनि सिलाइकटाईकै काम सिक्न काठमाडौं आइन्। तर, काठमाडौं आउने वित्तिकै उनका आफन्तहरूले उनलाई बिहे गर्न सुझाए। र, उनको बिहे काठमाडौं बस्दै आइरहेका दैलेखका राजु थापासँग भयो।
उनीहरू घट्टेकुलोमा बस्दै आइरहेका थिए। बिहेपछि उनी घरकै कामकाजमा व्यस्त भइन्। र, पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिइन्।
छोरा भएपछि उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कतार गए। कमला भने कोठादेखि नजिकै घट्टेकुलोमा सिलाइको काम सिक्न जान थालिन्। एक वर्षीय छोरालाई पिठ्युमा बोकेर भए पनि उनी सिलाइ सिक्न जान थालिन्।

त्यतिबेला उनले निकै संर्घष गर्नुपर्यो। उनी भन्छिन्,`म कक्षा दुईसम्म मात्रै विद्यालय जान पाएकी थिएँ। मलाई हिसाब गर्न पनि आउँदैनथ्यो। इन्चटेप चलाउन सुरुमा अङ्क पढ्न जान्नुपर्ने रहेछ, मल्टिप्लाई जान्नुपर्ने रहेछ। तर, मल्टिप्लाई जति सिके पनि म बिर्सिहाल्थेँ। त्यसकै पिरलोमा म सिलाइ सिक्न पनि जान छोडेँ। मेरो कोठा छेउमा एक जना बहिनी बस्थिन्। मेरो दिनचर्या अवलोकन गरिरहेकी उनले एकदिन सोधिन्,`कमला दिदी! सिलाई सिक्न जानुहुन्न अचेल किन?’
मैले जवाफमा बहिनीलाई भनेकी थिएँ,`सिलाई सिक्न त हिसाब सिकेको हुनुपर्ने रहेछ, अङ्क चिन्न सक्ने हुनुपर्दोरहेछ। म त नपढेकी मान्छे! सकिन इन्चटेपका अङ्क चिन्न। त्यसैले छाडिदिएँ।’
मेरो कुरा सुन्ने बित्तिकै उनले भनिन्,`दिदी! म चिनाउँछु तपाइलाई अङ्क, म सिकाउँछु तपाईंलाई हिसाब र मल्टिप्लाई। तपाईं सिलाई कटाई सिक्न जानुस्।’
‘बहिनीको आश्वासनले मेरा आसामा पुन: पुर्नजीवन आयो। म निरन्तर उनीकहाँ अङ्क चिन्न, हिसाब जान थालेँ। केही हप्तामै मलाई पढ्न, लेख्न दुवै आयो। र, म सिलाई सिक्न जान थालेँ,’ उनले भनिन्।

चाहाना, दृढता, लगन र निरन्तरताले के हुँदैन! त्यसपछि कमलाले सिलाइकटाईमा निपूर्णता हासिल गरिन्।
उनका श्रीमान् पनि दुई वर्षमा विदेशबाट घर फर्किंए। श्रीमान्ले उनलाई सटिङसुटिङको पसल खोलौं भने। दुवै जना मिलेर मैतिदेवी मन्दिर छेउ भन्दा अगाडि आजभन्दा २८ वर्ष पहिले थापा टेलर सञ्चालनमा ल्याए। त्यसपछि छोरीको जन्म भयो। श्रीमान् सहयोगी थिए। दुवै जना व्यवसायमा खटिँदै र छोराछोरी पनि हुर्काउँदै गए।
छोराछोरीको लालनपालन र शिक्षा-दीक्षामा कमलाले रत्तिभर कमी हुन दिइनन्। तर, उनलाई पछिपछि सधैँ एउटै कुराले सताउन थाल्यो- श्रीमान् अधिक रक्सी पिउथे। अधिक रक्सी सेवनकै कारण ५८ वर्षको उमेरमा नै श्रीमान्को मृत्यु भयो।
आज कमला श्रीमान्को अधिक रक्सी पिउने बानी र उनको निधनलाई सम्झिँदै भन्छिन्,`जति सम्झाउँदा पनि सकिनँ, जातले पाको हातले के खान छोड्नुहुन्थ्यो र?’
अधिक रक्सी सेवनले नै कमलाका श्रीमान्को फोक्सोमा समस्या आयो र मृत्यु भयो। श्रीमान्को निधनपछि कमलाले सटिङसुटिङ व्यवसाय बन्द गरिन्। र, उनी सिलाइकटाई व्यवसायमा मात्रै केन्द्रित भइन्। यद्यपि, श्रीमान्को मृत्युपछि उनलाई एक्लै व्यवसाय गर्न खासै मन त थिएन। सँगै बस्ने श्रीमान्को यादले सताउथ्यो। एक्लो पनले दुखाउँथ्यो। विछोडको विझाइले मन खान्थ्यो। श्रीमान् बिनाको सुरुवाती समय उनलाई निकै गाह्रो भयो।

तर, घर व्यवहार चलाउन पैसा चाहिन्छ। उनी भन्छिन्,`आफूसँग सिप हुँदाहुँदै पनि दु:ख पर्यो भन्दैमा म केही नगरी बस्न सक्दिनथेँ। परिवारको सम्पूर्ण जिम्मेवारी आफैँमाथि थियो। बाँच्नका लागि भए पनि काम गर्नुपर्छ भनेर मैले विस्तारै कामलाई निरन्तरता दिन थालेँ। हिन्दुधर्म अनुसार श्रीमान्को मृत्युपछि पनि श्रीमतीले सेतो लुगा लगाउनुपर्ने चलन छ। तर, श्रीमान्को मृत्युपछि मैले रातै लुगा लगाएँ। कसले के भन्यो? मलाई वास्ता भएन। म आफ्नै काममा व्यस्त छु।’
वितिगएका स्मृतिहरूमा विचरण गर्दा उनका आँखा टिलपिल थिए। बेला-बेला गह भरिएर स्वर घाँटीमै सुक्थ्यो। `मलाई त आफ्नो काममा विश्वास छ। अरुले के भन्छन् भन्ने कुरामा म खासै वास्ता गर्दिन्,’ उनले सुनाइन्।
आफू र आफ्नो कामप्रतिको विश्वासले सामाजिक दबाबहरू हटाउन मद्दत गर्ने कुरामा उनी विश्वस्त छिन्। उनको सिलाई सेन्टरमा गावन, ब्लाउज, मेक्सी, पेटिकोट र बच्चाहरूका लुगा सिलाइन्छन्। यतिबेला उनले थप दुई जनालाई रोजगारी दिइरहेकी छन्। उनको मासिक आम्दानी कम्तिमा ३० देखी ४० हजार हुने गरेको छ। विवाहको सिजनमा ५० देखी ६० हजारसम्म कमाउने गरेको उनी सुनाउँछिन्।




















प्रतिक्रिया