काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार खेलिएको पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १३९ रन बनाएको थियो । १४० रनको लक्ष्य पछ्याएको कोशी निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८७ रनमा सीमित रहेपछि एपीएफ ५२ रनले विजयी भएको हो ।
कोशीका लागि अप्सरी बेगमले सर्वाधिक ३१ रन बनाइन् । उनले ४८ बलमा २ चौका र एक छक्का प्रहार गरिन् । रुबिना क्षेत्रीले २२, लकिता राजवंशीले १४ रन बनाइन् । विमला मलाहा ६ रनमा अविजित रहिन् ।
एपीएफका लागि रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता राना मगरले एक/एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको एपीएफका लागि इन्दु बर्माले ५६ रनको अर्धशतकीय पारीसहित अविजित रहिन् । उनले ५० बलमा ३ चौका र एक छक्का प्रहार गरिन् । कप्तान सीता राना मगर ४५ रन र ज्योति पाण्डेले १२ रन बनाए । रोमा थापा १८ रनमा अविजित रहे ।
कोशीका लागि एक मात्र विकेट कप्तान रुबिना क्षेत्रीले लिइन् ।




















प्रतिक्रिया