गोपी मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्। कुशल प्रशासकको छवि बनाएका मैनालीको साहित्यमा पनि त्यत्तिकै दखल छ। उनी कुशल लेखक, वरिष्ठ समालोचक तथा निबन्धकार पनि हुन्। मैनालीका आधि दर्जनभन्दा बढी पुस्तक प्रकाशनमा छन्। सटिक, निष्पक्ष र सफाट समालोचना गर्ने मैनालीको समय रमेश विकल समालोचनात्मक अन्वेषण नामक पुस्तक बजारमा आएको छ। पुस्तकमा मैनालीले रमेश विकलको योगदानको बहुआयामिक ढंगबाट चर्चा परिचर्चा गरेका छन्। यो पुस्तक बढेपछि विकललाई सहज रूपमा बुझ्न सकिन्छ। आज अनलाइन पानाका लागि यज्ञराज जोशीले मैनालीसँग सोही विषयमा केन्द्रित रहेर संवाद गरेका छन्।
तपाईंले रमेश विकललाई कसरी चिन्नु भएको छ?
रमेश विकललाई चिनाउने मुख्यतः प्रगतिवाद हो। तर, उहाँ प्रगतिवाद्मा मात्र सीमित हुनुहुन्न। उहाँ प्रगतिवाद भन्दा अलिकति माथि हुनुहुन्छ। रमेश विकललाई मैले भौतिकरूपमा चिन्न पाइनँ। सानोमा उहाँ कृतिहरू मेरी सानी भतिजी प्रतिमा, उर्मिला भाउजू पढेको थिएँ। पछि नेपाल टेलिभिजनमा अविरल बग्छ इन्द्रावती हेरेँ। त्यो पढेँ पनि। त्यसले ठूलो चर्चा पायो। त्यतिबेला उहाँ जीवितै हुनुहुन्थ्यो। त्यसरी चर्चा पाइसकेपछि मलाई उहाँको बारेमा खोज, अनुसन्धान गरौं र पढौं भन्ने लाग्यो। सेवा निवृत्त भइसकेपछि मैले रमेश विकललाई सम्पूर्ण त पढ्छु, सम्पूर्ण त लेख्छु र उहाँको सबै साहित्यिक आयामको विश्लेषण गर्छु भनेर सुरभि साहित्य प्रतिष्ठान जोरपाटीबाट ‘रमेश विकल समालोचनात्मक अन्वेषण’ नामक पुस्तक प्रकाशित गरेको छु। जोरपाटी रमेश विकलको जन्मस्थान पनि हो। नेपाली साहित्यको आख्यान विधामा रमेश विकल शिखर व्यक्तित्व हो। शिखर किन भनियो भन्दा, नेपाली आख्यान विधामा चार वटा वादहरू छन्। गुरुप्रसाद मैनालीले सुरु गर्नुभएको सामाजिक यथार्थवाद, विश्वेश्वरप्रसाद कोइरालाको मनोविज्ञान, अर्को प्रगतिशीलवाद हो। हृदयचन्द्रसिंह प्रधान, पारिजातहरूले प्रगतिवादलाई केन्द्रविन्दुमा राखेर कथा सिर्जना गर्नुभयो। चौथो भनेको आन्चलिकतावाद अथवा लोकल कलर हो। जुन समाजमा हुर्कियो साहित्यमा आउँदा त्यो व्यक्ति त्यही समाजलाई बोकेर आउँछ। रमेश विकललाई मैले समग्र रूपमा हेरेँ। उहाँले लेख्नु भएका ५५ वटा कृतिको अध्ययन गरेँ। उहाँले २००६ सालदेखि लेख्न सुरु गर्नु भएको हो। उहाँले आधा शताब्दी नेपाली साहित्यमा योगदान पुर्याउनु भयो। त्यो अवधिमा नेपाली साहित्यलाई ५५ कृति दिनु भयो। ती कृति अध्ययन गरिसकेपछि रमेश विकल नेपाली आख्यान विधाको शिखर व्यक्ति हो भन्ने निष्कर्षमा पुगेको हुँ।

रमेश विकलको बारेमा समालोचनात्मक कृति त ल्याउनु भयो, यो सोच कसरी पलायो, बताइदिनुहोस् न?
मलाई सुरभि साहित्य प्रतिष्ठानले उहाँको बारेमा अनुष्ठात्मक अध्ययन गरिदिए हुने आग्रह राख्यो। सुरुमा त्यो आग्रह स्विकारौँ कि नस्विकारौँ भन्ने डर पनि थियो। यसभन्दा अगाडि मैले सिद्धिचरण श्रेष्ठको बारेमा यस्तै किताब प्रकाशन गरेको थिए। समालोचनामा अलि बढी मूल्याङ्कन गर्नुपर्ने पक्ष, न्याय गर्नुपर्ने पक्ष, कला विवेचना गर्नुपर्ने पक्ष सिर्जना जस्तो सजिलो हुँदैन। सिर्जनात्मक शक्ति पनि चाहिन्छ। तर, यो पुनर्सिर्जना हो। पुनर्सिर्जना गर्न यस्तो भूमिका मैले लिन सक्छु र भन्ने लागेको थियो। तर, यो पुस्तक प्रकाशनमा सुरभि साहित्य प्रतिष्ठानको ठूलो हात रह्यो। प्रतिष्ठानमा रमेश विकलका छोरा विजय चालिसे, मेरो दाजु वरिष्ठ साहित्यकार युवराज मैनाली, अध्यक्ष बाजुराम शर्मा पौड्यलको आग्रहपछि मैले लेख्छु नि त भनेर सुरु गरेको हुँ। लगभग एक वर्ष लगाएर मैले यो किताब लेखेको हुँ। किताबमा रमेश विकल को हुन्, उहाँको पारिवारिक स्थिति के थियो?, उहाँलाई साहित्यतर्फ कसले डोर्यायो?, घरको पारिवारिक स्थितिले साहित्यलाई कति प्रभाव पारेको छ? भन्ने बारेको मिहिन चर्चा गरेको छु।
नेपाली आख्यानमा विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मैनाली, रमेश विकल र पारिजातलाई छुट्याउनु हुँदैन। यी चार पिलर हुन्। यी चार जनालाई छुटाउँदा नेपाली आख्यान विधा अपुरो हुन्छ।
उहाँले वृत्ति सेवा अवलम्बन गर्नु भयो। वृत्ति सेवा अवलम्बन गरिसकेपछि रामेश्वर शर्मा चालिसे र रमेश विकल कति फरक रहेछन् भन्ने विषयको चर्चा गरेको छु। उहाँ चित्रकार पनि हुनुहुन्थ्यो। उहाँ आफैँ मञ्चन गर्ने नाटककार पनि हो। उहाँपछि राजनीतिमा पनि सक्रिय हुनुभयो। उहाँले कम्युनिस्ट पार्टीको राजनीति गर्नुभयो। उहाँका सबै कृति हेरिसकेपछि प्रवृत्ति के रहेछ भन्ने बारेमा लेखेको छु। उहाँको भूमिकालाई तीन कालमा बाँडे। २००६ देखि २०२० सम्मको अवधिलाई एक प्रकारको यथार्थमुलक समाजवादतर्फ ढल्केको रमेश विकल, २०२० देखि ३०३१ सम्म उर्मिला भाउजूहरू लेखिएको समय हो। यो समयमा रमेश विकलमा चेतना बढेको देखिन्छ। त्यो चेतना अलि बढी मनभित्रसम्म पुगेछ। त्यो चेतना यौन मनोभावहरू, यौनानुभूतिहरू अलि बढी पाइएको भेटेँ। २०३२ पछि उहाँमा परिपक्वता, उहाँको समाजलाई हेर्ने दृष्टिकोणमा परिपक्वकता बद्लिएको पाएँ। त्यसपछि अविरल बग्दछ इन्द्रावती, सागर उर्लन्छ सगरमाथा छुन जस्ता धेरै किताब लेख्नु भयो। ती किताबबाट मैले रमेश विकल सिंगो नेपाली समाजमा स्थापित आख्यानकार, नाटककार, संस्मरणकार, निबन्धकार हो। तर, आख्यानकार धेरै हो। आख्यानकारमा पनि उहाँलाई चिनाउने नयाँ सडकको गीत छ। फुटपाथको स्तरमा बालमनोविज्ञानको ठूलो कुरा छ। त्यसमा गरिबिको चित्रण छ। सुगौली उपन्यास लेख्नु भएको छ। त्यो उपन्यासले बाल मनोविज्ञानलाई उधिनेको छ।
समकालीन कथाकार विश्वेश्वरप्रसाद, पारिजात, दौलतविक्रम विष्ट, गुरुप्रसाद मैनाली, हृदयचन्द्रसिंह प्रधान, विजय मल्ल, गोविन्दबहादुर मल्ल गोठालेको सापेक्षतामा रमेश विकल कहाँनिर हुनुहुन्छ? यसरी हेरेँ मैले। अर्को पाटो समालोचकहरूले उहाँलाई कसरी हेर्नुभयो भन्ने हेरेँ। त्यसपछि उहाँले देखाउन खोज्नु भएको बाटो के रहेछ भनेर अन्तर विधाको तुलना गरेँ। निबन्ध र संस्मरण, उपन्यास र कथा, समग्र कथा र नाटक, उहाँले चित्रकला पनि गर्नुहुन्थ्यो। सबै कुरा हेरिसकेपछि उहाँको जीवन, धर्म, प्रकृतिवाद हेर्ने दृष्टिकोण, पुरस्कारलाई हेर्ने दृष्टिकोणलाई मूल्याङ्कन गरिसकेपछि रमेश विकल नेपाली आख्यान विधाको एउटा शिखर व्यक्तित्व हो भन्ने निष्कर्षमा म पुगेँ। नेपाली आख्यानमा विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मैनाली, रमेश विकल र पारिजातलाई छुट्याउनु हुँदैन। यी चार पिलर हुन्। यी चार जनालाई छुटाउँदा नेपाली आख्यान विधा अपुरो हुन्छ। अर्को बाल साहित्यमा कृष्णप्रसाद पराजुली र रमेश विकल छुटाउनै नहुने नाम हुन्। यी दुई छुटाउँदा बाल साहित्य नै छैन भन्ने जस्तो अवस्था छ। कुन विधामा उहाँको स्थान कति छ भन्नेसम्म पारेर मैले १७ च्याप्टरमा लेखेको छु।

त्यसो भए आख्यानकार रमेश विकल एक व्यक्तिमात्र नभएर अनेक प्रतिभाको धनी हुनुहुन्थ्यो?
रमेश विकल आख्यानकार वा कथाकार भन्ने रूपमा स्थापित हुनुभयो। उहाँको अरू व्यक्तित्वलाई आख्यान व्यक्तित्वले थिचेको छ। उहाँले आत्मवृत्तान्त पनि लेख्नु भएको छ। आत्मवृत्तान्त लेख्दा दुई व्यक्तिमा आत्मरति नभएको देखेको छु। विश्वेश्वरप्रसाद कोइराला र रमेश विकल। उहाँहरूले आत्म कथामा न्याय गर्नु भएको छ। समाजले गाली गर्ला कि भनेर नभएको कुरा ल्याउने र भएको कुरालाई लुकाउने गर्नु भएको छैन। जेछ आफ्ना कमजोरी पनि राख्नु भएको छ। रमेश विकलले बालबालिकालाई खुराक दिनुपर्छ भनेर बाल मनोविज्ञानलाई पनि मिहिन रूपमा हेर्नु भएको छ।
बालबालिकामा सानैमा साहित्यिक चेत भर्दा भोलि समाजको श्रेष्ठ नागरिक बन्न सक्छ भन्ने चेत पाइन्छ नि है?
एकदमै हो। उहाँले एउटा बाल उपन्यास लेख्नु भएको छ, विक्रम र नौलो ग्रह भनेर। मंगलग्रहमा मानिसहरू कसरी पुग्छन् भनेर एउटा दृश्य अगाडि राखेर सिर्जना गर्नु भएको छ। मधुमालतीको कथामा बाल मनोविज्ञान पनि छ, बाल कौतुहलता पनि छ, मनोरञ्जन दिने कुरा पनि गर्नु भएको छ। उहाँले केही मूर्ति पनि बनाउनु भएको छ। त्यसैले उहाँलाई एउटा दृष्टिकोणबाटमात्र हेर्नु हुँदैन।
नेपालको विडम्बना जिउँदोमा कहिले पनि साहित्यकारहरूलाई, सामाजिक आन्दोलकहरूलाई, सुधारकहरूलाई सरकारले इज्जत नै दिएको छैन। रमेश विकललाई पनि त्यो इज्जत दिइएको छैन।
तपाईं कुशल समालोक हो, समालोचनामा रमेश विकललाई नै किन रोज्नुभयो?
रमेश विकल आख्यानको शिखर व्यक्तित्व रहेछ। गुरुप्रसाद मैनाली, बिपी, देवकोटाको बारेमा लेखिएको छ। तर, रमेश विकलको समग्र व्यक्तित्वलाई झल्किने गरी समालोचना भएको पाइनँ। भएको समालोचना पनि आंशिक भएको पाइयो। रमेश विकलको पूर्ण समालोचना गर्नुपर्छ भन्ने लागि रहेको थियो। यसैबीच सुरभि साहित्य प्रतिष्ठान र त्यहाँका पदाधिकारीहरूले पटक पटक घचघच्याउँदा मलाई प्रेरणा मिल्यो। गोकर्णको पूर्व मेयर र अहिलेको मेयरको पनि प्रेरणा छ। म त्यहाँको मान्छे पनि होइनँ। म त मोफसलको मान्छे हुँ। मलाई लेख्न र पढ्न सक्छ, यसले छुट्टै दृष्टिकोण राखेको छ, यसले अन्वेषण गर्नसक्छ भन्ने उहाँहरूको विश्वासकै कारण यो कृति जन्मिएको हो।
नेपाली साहित्यमा रमेश विकलको स्थान अहिले कहाँनिर छ?
नेपालको विडम्बना जिउँदोमा कहिले पनि साहित्यकारहरूलाई, सामाजिक आन्दोलकहरूलाई, सुधारकहरूलाई सरकारले इज्जत नै दिएको छैन। रमेश विकललाई पनि त्यो इज्जत दिइएको छैन। उहाँको संघर्षलाई सम्मान नदिइएकै कारण यो कृति उहाँप्रतिको सम्मान पनि हो। नयाँ पुस्ता लेख्न सुरु गर्छ, अध्ययन गर्दैन। पुरानो पुस्तालाई उसले आस्था राख्दैन। पुरानो पुस्ताले नयाँले के नै लेख्छ र सोच्नुहुन्छ। यस्तो कुरा हुनुहुँदैन। आग्रह, आस्था, समय र पुस्तामा विभाजन गर्नु हुँदैन। सर्जक भनेको सर्जक हो। उसले के दियो भन्नेकुरा प्रस्टरूपमा देखाउन सक्नुपर्छ। साहित्यकारको सिर्जना आफ्नो होइन, त्यो समाजको हो। रमेश विकल नेपाली साहित्यको अनमोल निधि हो। उहाँका कृति विभिन्न भाषामा अनुवाद हुनुपर्छ। अनि नेपाली साहित्य कहाँनेर छ भन्नेकुरा देख्न सक्छौं। नेपाली साहित्यका पाठक थोरै छन्। हामीले त्यस्तो गर्न नसक्दासम्म हाम्रो दायरा सानै रहन्छ।
रमेश विकल कस्तो स्वभावको व्यक्ति हुनुहुन्थ्यो, उहाँको पारिवारिक पृष्ठभूमि कस्तो थियो?
व्यक्ति र व्यक्तिको पारिवारिक स्तर फरक कुरा हो। त्यो कुरा हेर्यौं भने हामी अलि आग्रही हुन्छौं। कला र व्यक्तिलाई छुट्याउनुपर्छ। पारिवारिक पृष्ठभूमिले कलालाई प्रभाव भने पारेको हुन्छ। रमेश विकललाई मैले व्यक्तिगत रूपमा चिन्न पाइनँ। उहाँलाई पढ्दा, साथी संगतिबाट बुझ्दा उहाँ हुनेखाने परिवारमा जन्मिएको मान्छे हो। सरकारी सिन्दूर पडेको मान्छे हो। उहाँ लाडप्यारमा हुर्केको मान्छे हो। आमाको निधन भएपछि हजुरआमा, हजुरबुवा, जेठीआमा र दिदीसँग हुर्किनु भयो। उहाँको त्यो प्रभाव साहित्यमा पनि देखिएको छ। उहाँले छोराछोरीमाथि साँच्चिकै माया गर्न सक्नु भएन तर बाल साहित्यमार्फत माया गरिदिनु भयो। त्यसैले व्यक्तिगत रूपमा हेर्दा रमेश विकल अलि धीर स्वभावको, दमन स्वभावको, अलिकति आग्रही हुनुहुन्थ्यो। उहाँको घरमा धेरै नोकर चाकर थिए। उहाँले दलितको छोरीलाई धेरै मन पराउनु हुन्थ्यो। त्यो सानो बेलाको अव्यक्त सम्बन्ध थियो। यस्ता कुरा उहाँको सिर्जनामा ठ्याक्कै आएका छन्। पारिवारिक पृष्ठभूमि र साहित्य सिर्जनालाई सापेक्ष रूपबाट हेर्नुपर्छ। परिवार एक प्रकारले हुर्किएको हुन्छ, व्यक्तिको स्वभाव अर्कै हुन सक्छ। त्यसैले व्यक्तिलाई व्यक्तिकै रूपमा चिन्नुपर्छ।
रमेश विकलका बारेमा थप केही भन्नु छ कि?
मैले यो कृतिमा सकेजति मेहनत गरेको छु। एक वर्षमा यो कृति लेखेको हुँ। त्यसका लागि ५५ किताब पढेँ। उहाँलाई दाँज्न गुरुप्रसाद मैनाली, पारिजात, बिपीहरूलाई पढ्नुपर्यो। अझैँ समय पाएको भए थप न्यायिक मन प्रयोग गर्न सकिन्थ्यो भन्ने लाग्छ। अब यो कृति मेरो रहेन। यसमा कति न्यायिक मन प्रयोग गरेको छु भन्ने कुरा यहाँहरूले बुझिदिनुहुने छ भन्न चाहन्छु।
















प्रतिक्रिया