काठमाडौं- दयाहाङ राईको अभिनय रहने दुई फिल्म एकै साथ सुटिङमा निस्किएका छन्। एउटाको सुटिङ ओखलढुंगाको रुम्जाटारमा सुरु भएको छ भने अर्को फिल्मको ललितपुरको सुनाकोठीमा।
दसैँअघि पहिलो खेप सुटिङ सकिएको ‘डिग्री माइला’ अन्तिम सेड्युलका लागि आइतबारदेखि फ्लोरमा निस्किएको हो भने उनकै अभिनय रहने भनिएको ‘मनसरा’ पनि सोमबारदेखि फ्लोरमा निस्किएको। ‘मनसरा’को अधिकांश सुटिङ ललितपुरकै सुनाकोठी वरिपरि रहने निर्माण टिमका सदस्यले जानकारी गराएका छन्।
यति मात्र होइन दयाहाङको अभिनय रहने भनिएको अर्को फिल्मको पनि सुटिङ धमाधम भइरहेको छ। त्यो फिल्म हो ‘भूठान’। अमेरिकाको ओहायो राज्यमा यो फिल्मको पनि सोमबारदेखि सुटिङ सुरु भएको छ। हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो फिल्मका लागि दयाहाङ माघ ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रय रहेको छ।
‘मनसरा’ र ‘भूठान’ मा भने दयाहाङको अतिथि भूमिका रहने बताइएको छ। यसैले ‘मनसरा’ का लागि उनले ८ दिनको समय छुट्याएको बताइएको छ भने ‘भूठान’ मा त्योभन्दा कम दिनको सुटिङ रहेको जानकारी छ। एक समय राजेश हमाल र निखिल उप्रेतीले एकै चोटि तीन चारवटा फिल्मको सुटिङ गर्ने गरेको अन्तर्वार्ता दिने गरेका थिए। अहिले दयाहाङलाई त्यो सौभाग्य जुरेको छ।





















प्रतिक्रिया