म धागोले घेरेको
गुन्द्रीले बेरेको
अछुत ठाउँमा कैद थिएँ।
संस्कारले कसेको
समाजले तोकेको
एकछाक खाएर म
बाउको आशौचमा थिएँ।
कसैलाई मान चाहियो
कसैलाई दान चाहियो
कोही भाउ खोजेर हिँडे
मेरा आँखाले हेरिरहेका थिए
दिमागले सोचिरहेको थियो
तर, म बाउको यादमा तड्पिरहेँ।
अहिले म सोचिरहेछु
तिम्रो व्यवहार
साखै म खोजिरहेछु
तिम्रो जिम्मेवारी
अनि एउटा निष्कर्षमा छु
तिमी आफन्तको आकृतिमा
सामाजिक कलंक रहेछौ।
भो ! अब धर्म नभाक
मृत्युमा लोभको भाँडो नथाप
दु:खबाट मुक्त गरेको वकालत गर्दै
काखमा राखेर छुरा नधस
म कसैको चाहाना अनुसारको
मान दिन सक्दिनँ
लोभीलाई भनेजति
र, चाहाना जे हो
त्यो दान दिन सक्दिनँ
तिमी किर्पण रहेछौ
दानको अपमान गर्न सक्दिनँ।
लुब्धहरु रिसाउन् या खुसाउन्
मलाई मतलब पनि छैन
मेरो बाउको मृत्युमा
जग्गा दलाली गरे जस्तै गर्नेहरू
तिमीहरु मेरो नजरमा मानिस नै होइनौ।
आत्मैदेखि साधुवाद तिमीहरूलाई
किनकि,
मलाई पीडामै मानवीय पाठ सिकायौ
सामान्य दिनचर्यामा फिर्दैछु
जसै मेरो आगामी पथ देखयौ।
हो! तिमीहरूले पिलाएको विष मन्द छ
बाउलाई स्मरण गरेर भन्नै पर्छ
तिमीहरूको चरित्रलाई
मेरो घरको ढोका बन्द छ ।
त्यसैले,
म जे छु, जस्तो छु
त्यस्तै हुन देउ
मेरो बाउको मृत्युमा
तिमीहरूले जुन बहाना
र नाममा दलाली गर्यौ
फेरि पनि धन्यवाद!
नामुद गोरु दलालहरु।
प्रतिक्रिया