Logo

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट: आर्मीसामू कोशी ९ विकेटले स्तब्ध



काठमाडौं ।  स्पिनर साहब आलम र कुशल मल्लको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ९ विकेटले हराएको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो ।

आलम एक्लैलै ६ विकेट लिएपछि टर हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेश २४.४ ओभरमा ८८ रनमा अलआउट भएको थियो ।

आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिए । १२.२ ओभरमा ७० रनमा ३ विकेट गुमाएको कोशीले बाँकी १८ रन जोड्दा थप ७ विकेट गुमाएको थियो ।

कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गरेका हुन् । पाँच ब्याटर शुन्यमै आउट हुँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १ विकेट गुमाउँदै पूरा गर्यो ।

आर्मीका ओपनर सन्तोष कार्की ३२ र कुशल मल्ल २२ रनमा नट आउट रहे । अर्का ओपनर इमरान शेख ३२ रनमा आउट भएका थिए ।

यसअघि आर्मीले मधेश प्रदेशलाई १२६ रनले हराएको थियो भने बागमती प्रदेशसँग ३ विकेटले पराजित भएको थियो ।

कोशीको यो चौथो हार हो । पहिलो खेलमा मधेशसँग ७ विकेटले हारेको कोशी दोस्रो खेलमा एपीएफसँग ६ विकेट र तेस्रो खेलमा पुलिससँग ७ विकेटले पराजित भएको हो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १२:३६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।