काठमाडौं । बागमती प्रदेशका ओपनर आशुतोष घिरैयाले प्रधानमन्त्री कप २०२४ अन्तर्गत कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् ।
टस हारेर ब्याटिङको निम्तो पाएका बागमतीका लागि आशुतोषले आक्रामक ब्याटिङ गर्दै करिअरको पहिलो शतक पूरा गरेका हुन् ।
घिरैयाले ९९ बलमा आफ्नो राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो शतक पूरा गरेका हुन् । कमल खत्रीको ३० औं ओभरको दोस्रो बलमा एज लागेर थर्डम्यानमा चौका हान्दै उनले शतक पूरा गरे ।
कोशीविरुद्ध ४७ बलमा अर्धशतक पूरा गरेका उनलाई सुजन थपलियाले ४१ रनमा ड्रप गरेका थिए । टियु मैदानमै कोशीका लागि शतक बनाएका सुजनले स्लिपमा क्याच छोडेर जीवनदान दिएपछि आशुतोषले लगातार आक्रमण गरे ।
आशुतोषले टोलीको स्कोर २८ रन रहँदा ओपनर इशान पाण्डेको साथ गुमाएका थिए । इशान ६ रन जोड्दै क्याच आउट भएका थिए । त्यसपछि रित र आशुतोषले बलियो साझेदारी गर्दै इनिङ सुदृढ बनाए ।
यी दुईले दोस्रो विकेटका लागि १ सय ३१ रनको साझेदारी गरे । रित ६० बलमा ३ चौकासहित ४९ रन जोड्दै विकेटकिपरको हातबाट समातिए । ३० ओभरमा बागमतीले २ विकेट गुमाएर १ सय ७३ रन जोडेको छ ।
आशुतोष बागमती प्रदेशबाट शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि ज्ञानेन्द्र मल्लले २०१९ संस्करणमा एपिएफविरुद्ध शतक प्रहार गरेका थिए । जारी प्रतियोगितामा यो पाँचौ शतक पनि हो । टियु मैदानमा सुरुवाती ४ दिन लगातार शतक बनेको थियो ।
तेस्रो पटक प्रधानमन्त्री कप खेलिरहेका आशुतोषले यसअघि पनि टियु मैदानमा भएको खेलमा राम्रो प्रदर्शन गरेका थिए । आशुतोषले यसअघि नेपाल पुलिस क्लबविरुद्ध पहिलो खेलमा ९२ रन जोडेका थिए । त्यसपछि नेपाल एपिएफ क्लबविरुद्ध पनि उनले ४१ रनको योगदान दिए ।
मुलपानीमा भएको मधेश र आर्मीविरुद्ध खेलमा भने उनले दोहोरो अंक छुन सकेका थिएनन् । ललितपुर जिल्लाबाट प्रदेश छनोट खेलेका उनले बागमती प्रदेशको छनोटमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।




















प्रतिक्रिया