Logo

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेश २५ रनमा अल आउट



काठमाडौं । कप्तान विपिन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई २५ रनमा अल आउट गर्दै पहिलो जित हात पारेको छ ।

गण्डकी १ सय ४२ रनले विजयी हुँदा कोशीको लगातार छैटौं हार हो । जितको लागि १६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी १५.२ ओभरमा २५ रनमा अल आउट भयो ।

यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल हो । यसअघि नेपाल एपीएफ क्लबले २०१९ को सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४१ रनमा अल आउट गरेको थियो ।

कोशीका कप्तान अंकित सुवेदीले ६ बलमा २ चौकासहित सर्वाधिक ८ रन बनाए । कोशीका चार खेलाडीले खाता नै खोल्न सकेनन् ।

गण्डकीका विपिन खत्रीले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । सन्दीप पराजुलीले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी ४८.२ ओभरमा १६७ रनमा अल आउट भएको थियो । गण्डकीका मुश्कान थापाले १ सय २२ बलमा ७ चौकासहित सर्वाधिक ६७ रनको महत्वपूर्ण अर्धशतकीय इनिङ खेले ।

६ विकेट लिएका विपिन खत्रीले ७१ बलमा ५ चौका र १ छक्कासहित ४२ रन जोडेका थिए । एक समय ७३-६ को अवस्थामा पुगेको गण्डकीलाई सातौं विकेटका लागि विपिन र मुश्कानले ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

कोशीका बायाँ हाते तीव्र गतिका बलर अभ्यास तिमिशिनाले ९.२ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ६ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १५:०७   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।