काठमाडौं । बागमती प्रदशेले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ ।
सोमबार भएको खेलमा बागमतीले कर्णालीलाई ७ विकेटले हराएको हो । मुलपानी क्रिकेट मैदानमा कर्णालीले दिएको ७९ रनको लक्ष्य पछ्याएको बागमतीले १३ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा ग्यो ।
पाँच खेल खेलेको कर्णाली प्रदेशको भने यो तेस्रो हार हो । यसअघि दुई खेलमा कर्णाली प्रदेश विजयी भएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले २४.२ ओभरमै अलआउट हुनुअघि ७८ रनमात्र बनाउन सक्यो ।
जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने १३ ओभरमै तीन विकेट गुमाएर ८० रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । बागमती प्रदेशको जितमा ओपनर इशान पाण्डेले ४० रनको योगदान गरे । उनले ३६ बलमा तीन छक्का र तीन चौका पनि हिर्काए ।
विकेटकिपर ब्याट्सम्यान रविन जोशीले अविजित १६ रन बनाए । अशोक पौडेलले अविजित ६ रन बनाए । कप्तान रित गौतम आठ रनमा पेभेलियन फर्किए भने ओपनर आशुतोष घिरैयाले नौ रन बटुलेका थिए । कर्णाली प्रदेशका बलर दिवान पुन एक्लैले तीन विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशलाई सस्तोमा समेट्ने क्रममा बागमती प्रदेशका बलर रिजन ढकाल एक्लैले पाँच विकेट लिएका थिए । उनले सात ओभरमा एक मेडन राख्दै २५ रन खर्चिएका थिए । कृजन गुरुङले पनि दुई विकेट हात पारे । प्रतिश जीसी, सूर्य तामाङ र बिपिन आचार्यले एक–एक विकेट लिए ।
कर्णाली प्रदेशका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । तल्लोक्रमका ब्याट्सम्यान अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाए । कर्णाली प्रदेशले अतिरिक्त रुपमा भने १७ रन पाएको थियो ।




















प्रतिक्रिया