Logo

अर्थ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख पाण्डे मन्त्रालयमा तानिए, उनीसँगै सात सहसचिवको सरुवा



काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डे अर्थ मन्त्रालयमा तानिएका छन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार भन्सार विभागका सेवन्तक पोखरेललाई पाण्डेको ठाउँमा पठाएका छन्।

पाण्डे ६ महिनाअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भएका थिए। उनी त्यसअघि राष्ट्रिय किताब खाना (निजामती)को महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए। सरुवा भएलगतै उनलाई भन्सार कार्यालयको जिम्मेवारी दिइएको थियो।

उनीसँगै अर्थ मन्त्रालयले सात सहसचिवको कार्यभार हेरफेर गरेको छ। शुक्रबार अर्थमन्त्री महतले आन्तरिक राजस्व विभागका महानिर्देशकसहित सात सहसचिवको कार्यभार हेरफेर गरेका हुन्।

विभागका महानिर्देशक दीर्घराज मैनालीलाई हटाएर मन्त्री महतले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख भूपाल बराललाई सो जिम्मेवारी दिएका छन्।

मैनालीलाई मन्त्री महतले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखमा नै फर्काइदिएका छन्। विभागको महानिर्देशक हुनुअघि मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख थिए। उनलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए।

मन्त्री महतले सेवन्तक पोखरेललाई भन्सार विभागबाट विमानस्थल भन्सार कार्यालय, नारायण रिजाललाई बराल प्रमुख रहेको महाशाखाको जिम्मेवारी दिएका छन्।

महेश आचार्यलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखाबाट अर्थकै आर्थिक नीति विश्लेषण महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख रहेका टोकराज पाण्डेलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखा र टंकप्रसाद पाण्डेलाई आन्तरिक राजस्व विभागबाट भन्सार विभागमा लगिएको छ।

मन्त्री महतले चार उपसचिवको पनि सरुवा गरेका छन्। स्रोतका अनुसार, उपसचिव बुद्धिप्रसाद आचार्यलाई अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व कार्यालय धरानको कामु कर अधिकृतको जिम्मेवारी दिइएको छ।

प्रमोदकुमार श्रीवास्तवलाई आन्तरिक राजस्व कार्यालय पोखराबाट बागलुङ, आन्तरिक राजस्व कार्यालय डडेलधुराका कामु कर अधिकृत वासुदेव पौडेललाई अर्थ मन्त्रालयमा ल्याइएको छ। कृष्णप्रसाद मौनजालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पदस्थापन गरिएको छ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार ०६:३०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।