Logo

अर्थ

खस्किँदाे गतिमा एनआईसी एशिया बैंक : अत्यधिक दबाब बढेपछि डेपुटी सीईओ पाण्डेद्वारा राजीनामा



काठमाडौं । एनआईसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्।

सीईओ रोशन कुमार न्यौपानेको दवावमा उनले आफ्नो कार्यकाल बाँकी रहँदै शुक्रबार पदबाट राजीनामा दिएको स्रोतले बताएको छ। पाण्डेले बुधबार नै सीईओ रोशनकुमार न्यौपानेलाई राजीनामा बुझाएका हुन्।

बैंकका एक उच्च पदस्थ कर्मचारीका अनुसार खस्किँदो वित्तीय अवस्थाको विषयलाई लिएर न्यौपानेमाथि सञ्चालक समितिको दवाव रहेको थियो। सोही दवाव न्यौपाने अन्य कर्मचारीमाथि थुपार्ने गरेको ती कर्मचारी बताउँछन्।

उनको राजीनामा शनिबार बस्ने सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने बैंकले जनाएको छ ।

पाण्डेको राजीनामासँगै अब सन्तोस राठी सिनियर डेपुटीमा बन्नेछन्। सीईओ न्यौपानेपछि उनै राठीलाई सीईओ बनाउने सञ्चालन समितिको भित्रि तयारी रहेको स्रोतले जनाएको छ।

पछिल्लो समय एनआईसी एशिया बैंकको वित्तीय अवस्था दिनप्रतिदिन खस्किँदै गइरहेको छ। त्यसैले बैंकका उच्च पदस्थ कर्मचारीहरूप्रति सञ्चालक समितिको अत्यधिक दवाव बढेको छ। पाण्डेको राजीनामाको कारण पनि यही हुनसक्ने बुझिएको छ।

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका पाण्डेले विभिन्न बैंक तथा एनआईसी एशिया बैंकको विभिन्न विभागदेखि विभागीय प्रमुख हुँदै २०७५ मंसिरदेखि डेपुटी सीईओको रूपमा कार्यरत थिए।

कुनै समय आफूलाई नम्बर वान दाबी गर्ने एनआईसी एशिया बैंकको छवी विग्रदो गतिमा छ। बैंकको अधिकांश वित्तीय परिसूचकसमेत ओरालो लाग्न थालेको छ। ऋण उठाउन नसक्दा बैंकको खराब कर्जामा समेत वृद्धि भएको पछिल्लो वित्तीय विवरणले देखाएको छ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १३:३२   :  बजे

9.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।