काठमाडौं- एनआइसी एशिया बैंक निरन्तर ओरालो गतीमा रहेको छ। एनआइसी शाखा सञ्जालनका हिसाबले ठूलो वाणिज्य बैंक हो।
तर, व्यापार नभएका कारण यतिबेला एनआइसी एशिया बैंकका शाखाहरू धमाधम बन्द हुन थालिएका छन्। काठमाडौं उपत्यकाको प्रत्येक १ किलोमिटर दूरीमा एक शाखा वा एक एटिएमको रणनीति अनुसार सञ्जाल विस्तार गरेको एनआइसी एशियाका लागि अहिले सञ्चालन गर्न धान्न धौ-धौ भइरहेको छ।
बैंकले पाँच दिनअघि मात्र ४ वटा काउण्टर बन्द गरेको छ। शाखा रहित बैंकिङ अवधारणाअन्तर्गत सिराहाको जिरोमाइल, नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका-७ नम्बर वडा गोरखाको सिउरिनीटार झापाको बुद्धशान्तिक गाउँपालिका वडा नम्बर ६ बाट दिँदै आएको बैंकिङ सेवा बन्द गरेको हो।
यसैगरी गत जेठ महिनायता बैंकले ३० वटा शाखा रहित बैंकिङ काउण्टरहरु बन्द गरि सकेको छ। जेठ १८ मा १६ वटा साउन ४ मा ४ वटा कात्तिक २४ मा ६ वटा र पछिल्लो समयमा माघ २९ गते थप ४ वटा काउण्टर बन्द गरेको हो।
फागुन पहिलो सातामा आइपुग्दा यो बैंकसँग जम्मा ४७ वटा शाखा रहित बैंकिङ सेवा काउण्टर बाँकी छन्। बैंकले माघ २९ गते प्रकाशन गरेको प्रेस विज्ञप्तीमा ३६० शाखा र ११५ वटा विस्तारित काउण्टर सञ्चालनमा रहेको उल्लेख छ।
आर्थिक गतिविधि बढी हुने काठमाडौं उपत्यकाभित्रका शाखाहरु तत्कालै बन्द नगरे पनि मर्ज गर्ने वा अन्यत्र सार्ने वा घरबहाल घटाउन लगाउने, कर्मचारी निष्काशन गर्ने रणनीति अपनाएको छ।
यसैबीच बैंकविरुद्ध आन्दोलन गर्नका लागि झापाका व्यापारी दुर्गा प्रसाईंले सर्वसाधारणलाई उक्साएको र बढ्दो महँगीका कारण सर्वसाधारणसँग दैनिक उपभोगका लागि समेत नियमित आम्दानीले अपुग हुन थालेपछि सर्वसाधारणले बैंकमा राखेको निक्षैप झिक्न थालेका छन्। हालै सार्वजनिक एक तथ्यांक अनुसार एनआइसी एशिया बैंकबाट एक महिनामै निक्षेपबाट १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ।
समग्र वाणिज्य बैंकको निक्षेप १२ अर्ब रुपैयाँले बढ्दा एनआइसी एशिया बैंकको भने निक्षेप उल्लेख्यरुपमा घटेको छ। नेपाल बैंकर्स संघले सार्वजनिक जानकारीमा ल्याएको तथ्यांक अनुसार एनआइसी एशियाको निक्षेप माघ महिनामा ३ खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । गत पुसमा यसको कूल निक्षेप ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी थियो।




















प्रतिक्रिया