Logo

प्रमुख समाचार

‘रेडजोन’मा प्रकाश ज्वालाको मन्त्री पद



काठमाडौं- ललितपुरको बालकुमारीमा दुई जना युवकको मृत्यु भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला मुख्य जिम्मेवार रहेको जाँचबुझ आयोगले निष्कर्श निकालेको छ। आयोगको यस निष्कर्षसँगै ज्वालाको मन्त्री पद धरापमा परेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि ललितपुरको बालकुमारी घटनामा छानबिन समितिले दिएको प्रतिवेदन अध्यययन गरी दोषीलाई कारबाही गरिने बताइसकेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचडले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले प्रतिवेदन बुझ्ने बताए। उनले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताए।

प्रधानमन्त्रीले यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर तत्काल १०/१० लाख रुपैयाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताए। परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि उनको भनाइ छ।

आयोगले मन्त्री ज्वालाले घटनाको जिम्मेवारी नलिएको उल्लेख गर्दै उनलाई ‘नैतिक जिम्मेवारी’ लिन प्रतिवेदनमा सुझाएको छ। ४ फागुनमा पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो।

जाँचबुझ आयोगले घटनास्थलमा खटिएका अपरेसन कमान्डर (डीएसपी) उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पिएसओ) बोधराज दनुवारलाई भने विभागीय कारबाही गर्न सिफारिस गरेको छ । दनुवार नेपाल प्रहरीका सहायक निरीक्षक (असई) हुन् ।

गएको पुस १३ गते बालकुमारीमा कोरियन भाषा परीक्षा दिने युवा र प्रहरीबीच झडप हुँदा दुई जना युवाको ज्यान गएको थियो। बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १५:३०   :  बजे

726
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।