काठमाडौं । बचतकर्ताको करिब सवा अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेपछि प्रहरीले पीडितहरूसँग थप उजुरी माग गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलले आइतबार सूचना जारी गर्दै सहकारीमा जम्मा गरेको रकम हिनामिना अपचलन गरी ठगी गरेको सम्बन्धमा अनुसन्धान भइरहेको भन्दै उजुरी पीडितहरूसँग थप उजुरी माग गरेको हो।
सूचनामा सेयरधनी तथा बचतकर्ता पीडित व्यक्तिहरूले आफ्नो प्रमाणसहित उजुरी दिन भनिएको छ। पासबुक, सेयरको प्रमाणपत्र, नागरिकता, बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिका साथ जाहेरी दरखास्त, उजुरी निवेदनसहित कार्यालयको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न इप्रकाले अनुरोध गरेको छ। २० दिनभित्रै उजुरी दिएमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन सहज हुने प्रहरीले जनाएको छ।
बचतकर्ताहरूको जम्मा गरेको रकम हिनामिना गरेको भनी उजुरी गरेपछि प्रहरीले केही दिनअघि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।
गुरुङलाई बिहीबार र भैरहवा शाखा व्यवस्थापक पाण्डेलाई शुक्रबार पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई रूपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीमा औपचारिक रूपमा हालसम्म सहकारीविरुद्ध ३९ जनाको उजुरी परेको छ। उजुरीमा उनीहरूको मात्रै करिब १० करोड ५० लाख बचत रहेको उल्लेख छ।
प्रतिक्रिया