काठमाडौं- मुलुकको सबैभन्दा ठूलो र पुरोना लोकतान्त्रीक पार्टी नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि ललितपुरको गोदावरीमा प्रारम्भ हुँदै छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जस्ता ठूला कम्युनिस्ट पार्टीहरूबीच नेपाली कांग्रेस लोकतान्त्रीक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढिरहेको दल हो।
तर, पछिल्लो समय कांग्रेसको सक्रियता र भूमिका प्रति जनता सन्तुष्ट हुन सकेका छैनन्। कांग्रेस जनप्रेमी हुन छोडेको र कम्युनिस्टहरूको ‘फरिया’ समातेर उनीहरूकै पछाडि लागिरहेको आरोप काग्रेसमाथि लाग्ने गरेको छ। त्यसमा पनि गठबन्धनको रणनीति अंगिकार गर्दै पछिल्लो समय राजनीतिक दलहरू अगाडि बढिरहेको प्रति जनता सन्तु्ष्ट छैनन्।
कांग्रेसभित्रै पनि गठबन्धनको विकल्प खोजिनु पर्ने आवाज उठ्न थालेका छन्। ललितपुरको गोदावरीमा आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गर्नेछन् । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्ने कार्यक्रम छ ।
प्रवक्ता डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्नेछन्। गगन थापाले महासमिति बैठकमा गठबन्धनको विकल्प खोज्नु पर्ने र २०८४ मा कांग्रेसले एक्लै निर्वाचनमा सहभागी हुनु पर्ने विषय उठान गर्ने बताएका छन्। उक्त प्रस्तावप्रति सभापति देउवा भने सन्तुष्ट छैनन्।
राजनीतिक दलहरूले प्रजातन्त्रका लागि अनवरत संघर्ष त गरे, तर राष्ट्रियताको मुद्दामा निरन्तर चुकेको देख्न सकिन्छ। प्रजातन्त्र प्राप्तिमात्र सफलता होइन। त्यसको सफल कार्यान्वयन र समृद्धि आजको आवश्यकता हो।
गाउँदेखि केन्द्रसम्म पार्टी सदस्यता लिएर संगठित रूपमा पार्टीको निर्देशनबमोजिम काम गरिरहेको कांग्रेस एक्लै चु्नावमा होमिन डराइरहेको अवस्थाप्रति धेरै नेताहरू सन्तुष्ट छैनन्। कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर गठबन्धनको सुरुदेखि नै विरोध गर्ने नेता मध्ये पर्छन्। यसरी युवा नेताहरू गठबन्धन राजनीतिक संस्कारको रूपमा अगाडि बढेको प्रति सन्तुष्ट छैनन्। र, उनीहरूले महासमिति बैठकमा त्यसको विरोधमा आवाज उठाउने तयारी गरिरहेका छन्।
नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला इतिहासकै सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ। केन्द्रदेखि गाउँसम्म सबै तहका सरकारमा कांग्रेस अग्रस्थानमा छ। तर पनि कांग्रेस खराब अवस्थाबाट गुज्रिरहेको छ। यो अवस्थाबाट पार कसरी पाउने भन्ने बारेमा पनि महासमिति बैठकमा छलफल होला।
महासमिति सदस्यले गुटगत एवं व्यक्तिगत स्वार्थ र राजनीतिक आग्रहभन्दा माथि उठेर देश र स्वयं कांग्रेसलाई बचाउन तथा चरम निराशामा रहेका जनतामा आशा भर्न सके भने मात्र यो बैठक सार्थक हुनेछ।
राजनीतिक दलहरूले प्रजातन्त्रका लागि अनवरत संघर्ष त गरे, तर राष्ट्रियताको मुद्दामा निरन्तर चुकेको देख्न सकिन्छ। प्रजातन्त्र प्राप्तिमात्र सफलता होइन। त्यसको सफल कार्यान्वयन र समृद्धि आजको आवश्यकता हो। त्यसैले कांग्रेस यो विषयमा गम्भीर हुनुपर्छ। जनताले कांग्रेसबाट गरेको अपेक्षा पनि यही हो।
राजनीतिक दल र तिनको नेतृत्वले देशहितलाई ख्याल नराखी केवल सत्तालाई मात्र केन्द्रमा राखेर राजनीति गर्दा राष्ट्र भयानक संकटको मोडमा उभिएको छ। इतिहासमा गरेको गल्तीबाट सिक्दै आफूलाई सच्याउन तत्पर नभएसम्म कांग्रेसले आफ्नो उचित मार्ग पहिल्याउन सक्दैन।
कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन। यो दलहरूको पनि दल हो। यो प्रजातान्त्रिक शक्ति मात्र होइन, देशको प्रमुख राष्ट्रवादी शक्ति पनि हो। यो देशको अभिभावकत्व लिनुपर्ने राजनीतिक शक्ति हो। देशको अभिभावकत्व निर्वाह गर्दै संकटतर्फ धकेलिँदै गएको देशलाई बचाउन, पहिले आफ्नै पार्टीलाई सही मार्गमा ल्याउन जरुरी छ। कताकता भड्किएको कांग्रेसलाई सही मार्गमा ल्याउन थोरै योगदान यो महासमिति बैठकले दिन सक्यो भने यसको सार्थकता रहन्छ, अन्यथा विगतका महासमिति बैठकजस्तै केवल विधानको बाध्यतालाई निर्वाह गर्दै कर्मकाण्डी शैलीमा सकियो भने यसले कांग्रेसको हित गर्दैन र देशले पनि केही पाउँदैन।
महासमिति सदस्यहरूले गुटगत एवं व्यक्तिगत स्वार्थ र राजनीतिक आग्रहभन्दा माथि उठेर देश र स्वयं कांग्रेसलाई बचाउन तथा चरम निराशामा रहेका जनतामा आशा भर्न सके भने मात्र यो बैठक सार्थक हुनेछ। कांग्रेसलाई महासमिति बैठक सफलताको हार्दिक शुभ कामना।
प्रतिक्रिया