विराटनगर । विराटनगरस्थित विराटनगर जुट मिल्समा आगलागी भएकाे छ। पछिल्लो समय बन्द अवस्थामा रहेको मुलुककै जेठो उद्योग जुट मिल्समा मंगलबार राति आगलागी भएको हो ।
आगलागीबाट २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएकाे छ । बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो ।
मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालका अनुसार आगलागीका कारण मिल्सको ३ वटा मेसिनमा क्षति पुगेको छ ।
विद्युतीय सर्टसर्किटबाट आगलागी भएको हुन सक्ने बताउँदै उनले राति ९ बजेबाट सुरु भएको आगलागी आज बिहान १ बजे नियन्त्रणमा आएको बताए । जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ ।
विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स २०७८ साल माघदेखि बन्द छ । पछिल्लो समय सरकारले बन्द रहेका उद्योग सुरु गर्न चासो देखाएपछि भारतीय व्यापारिक समूह बिड्ला ग्रुपले मिलको वस्तुस्थिति अवलोकन गरेको थियो ।




















प्रतिक्रिया