Logo

प्रमुख समाचार

सुशासनको रटान लगाउने प्रचण्ड क्याविनेटका विवादित तीन मन्त्री बर्खास्तमा पर्लान्?



काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भाषणहरूमा सुशासनको रटान लगाइरहेका हुन्छन्। उनले सुशासनविरुद्धका गतिविधि गरेको पाइए त्यो आफ्ना लागि सैह्य नहुने बताउँदै आएका छन्।

तर, यतिबेला प्रचण्ड क्याविनेटकै तीन मन्त्रीप्रति जनतामा चरम असन्तुष्टि बढ्दो छ। प्रचण्ड क्याविनेटमा विभिन्न आरोपित र छानबिनमा दोषी देखिएकाहरू पदमा आसिशन छन्। जसले प्रधानमन्त्रीको सुशासन प्रतिबद्धतालाई नै खिल्ली उडाई रहेको छ।

पुस १३ मा बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न बनेको आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई दोषी किटान गरेको छ। सरकारले बनाएको आयोगले उनलाई दोषी ठहर गरेको हो।

आयोगले मन्त्री ज्वालाले नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिससमेत गरेको थियो। मन्त्री ज्वालाकै निर्देशनमा गाडी विपरीत दिशामा प्रवेश गर्दा उक्त घटना भएको आयोगले ठहर छ।

आयोगले मन्त्रीलाई नै दोषी ठहर गर्दासम्म पनि प्रधानमन्त्रीले बर्खास्त नगरेको भन्दै एमालेले उनलाई तत्काल पदबाट हटाउन माग गरिरहेको हो। सडकदेखि सदनसम्म एमालेले मन्त्री ज्वालाको राजीनामाको माग गरिरहेको हो।

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक समापन समारोहलाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैलीप्रति चर्को आलोचना गरे।

उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए। उनले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए। उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरे। अध्यक्ष ओलीले एउटा व्यक्तिको स्वार्थमा सिंगो देश नै अलोकतान्त्रिक भएको बताए।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। टेरामक्स प्रकरणमा अख्तियारलाई बयान दिएका मन्त्री बस्नेत अहिले पनि कुर्सीमै छन्।

मन्त्रिपरिषद्कै अर्का सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पनि अहिले चर्को आलोचना भइरहेको छ। लुम्बिनी विकास कोषमार्फत बुद्धको अस्थिधातु समाधिस्थल कानुन विपरीत निजी कम्पनीलाई लिजमा दिलाउने निर्णय गराएको उनीमाथि आरोप छ।

मन्त्रिपरिषदमा यी तीन मन्त्रीको चौतर्फी आलोचना भइरहेको छ। एमालेले बिहीबार र शु्क्रबारको संसदमा पनि तीनै मन्त्रीको राजीनामा माग गरिरहेको हो।

चौतर्फी आलोचना हुँदा पनि मन्त्रीहरू राजीनामा दिने मुडमा छैनन्। प्रधानमन्त्री पनि बर्खास्त गर्ने अवस्थामा छैनन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १३:३०   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।