Logo

अर्थ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान



काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान भएको छ ।

भरतपुर महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना निकालेर रंगशाला निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरेको हो ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

आगामी मार्च ३१ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ । महानगरले यसलाई पहिलो चरणको ठेक्का भनेको छ ।

रंगशालाको पहिलो चरणमा १० हजार दर्शक क्षमताको स्टयान्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पूरा हुँदा रंगशालाको क्षमता १५ हजारजनाको पुग्न भरतपुर महानगरले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यसअघि, वाग्मती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो ।

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  ११ : ०२ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।