Logo

प्रमुख समाचार

धरमराउँदो सत्ता गठबन्धनमा गुम्दै नेताहरूबीचको विश्वास, ओली-प्रचण्ड नजिकिँदै



काठमाडौं- नेपाली राजनीतिमा वर्तमान सत्ता गठबन्धनमा किचलो देखिन थालेको छ। सत्ता गठबन्धनका प्रमुख घटकमा उत्पन्न आपसी असमझदारी र बेमेलले गठबन्धनको भविश्य नै अन्यौलपूर्ण परिस्थितिमा पुगेको चर्चा भइरहेको छ।

गठबन्धनको प्रमुख घटक कांग्रेसले चुनावी गठबन्धन नगर्ने प्रस्ताव महासमिति बैठकबाटै पारित गरेपछि माओवादी तरंगित बनेको छ। उक्त तरंगसँगै राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेस–माओवादी दुवैले दाबी गरिरहेका छन्। यसले सत्ता गठबन्धन संकटउन्मुख भएको आशंका गरिएको छ।

माओवादीको बुधबार सम्पन्न स्थायी समिति बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि सत्ता गठबन्धनमा यो विषय थप पेचिलो बनेको छ।

यसअघि गठबन्धनमा भएको सहमति अनुरुप राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी कांग्रेस नेता कृष्ण सिटौलालाई उम्मेदवारी दिन लगाइएको थियो। तर, यतिबेला राष्ट्रिय सभामा पहिलो दलको हैसियतले माओवादीले आफूले अध्यक्ष पाउनुपर्ने दाबी गरिरहेको छ।

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस र माओवादीको खिचातानीको फाइदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लिन खोजिरहेको देखिन्छ। यही फागुन २० गते हालका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सकिँदैछ। त्यस लगत्तै अध्यक्ष चयन गर्नुपर्ने हुन्छ।

राष्ट्रिय सभामा अहिले निर्वाचित भएका ५ सहित अब माओवादीका कूल १७ सांसदले प्रतिनिधित्व गर्दैछन्। ठूलो दलको हैसियतले अध्यक्षमा दाबी नछाड्ने माओवादीको अडान कायमै छ। कांग्रेसले भने चुनाव अगावैको पूर्वसहमति बमोजिम आफ्नो दलले अध्यक्ष पाउनुपर्ने दाबी गरिरहेको छ।

सत्तारुढ दल नेपाली कांग्रेस र सरकारको समेत नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र दुवैले राष्ट्रिय सभाको अध्यक्ष ताकेपछि अध्यक्ष नेपालले प्रचण्डलाई भेटेरै राष्ट्रिय सभा अध्यक्षकै कारण गठबन्धन भत्किन नहुने बताएका हुन्।

सत्ताधारी दलहरुबीच देखिएको बेमेलले घोषित रुपमा गठबन्धन तोड्ने रणनीति बनाएको एमाले हौसिएको छ। कांग्रेस भने माओवादीले फेरि एमालेसँग सत्ता सहकार्य अघि बढाउन सक्ने भयले तर्सिएको छ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)लाई पनि कतै गठबन्धन भत्किने हो कि भन्ने चस्का पसेको छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले लिने भन्ने विषयमा देखिएको विवादका कारण सत्ता गठबन्धन भत्किन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।

सत्तारुढ दल नेपाली कांग्रेस र सरकारको समेत नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र दुवैले राष्ट्रिय सभाको अध्यक्ष ताकेपछि अध्यक्ष नेपालले प्रचण्डलाई भेटेरै राष्ट्रिय सभा अध्यक्षकै कारण गठबन्धन भत्किन नहुने बताएका हुन्।

अध्यक्ष नेपाल प्रचण्डलाई भेट्न मंगलबार बिहान उपाध्यक्ष राजेन्द्र पाण्डेसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। त्यसक्रममा राष्ट्रिय सभा अध्यक्षबारे कांग्रेस र माओवादीले गरिरहेको दाबीबारे नेताहरूबिच छलफल भएको थियो। भेटमा अध्यक्ष नेपालले राष्ट्रिय सभामा कांग्रेस र माओवादी दुवैले दाबी गर्ने देखियो, यसले गठबन्धनमै समस्या आउने त होइन? भनेर प्रचण्डसँग जिज्ञासा राखेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीभित्र राष्ट्रिय सभाको अध्यक्ष माओवादीले छोड्न नहुने दबाब रहेको भन्दै यदि छोडेमा आगामी दिनमा संवैधानिक परिषद्मा माओवादी शून्य हुने अवस्था आउने भएकाले पनि आफ्नो पार्टीले दाबी गर्नु स्वाभाविक रहेको बताएका थिए।

प्रधानमन्त्री परिवर्तन भएपछि संवैधानिक परिषद्मा माओवादीको उपस्थिति शून्य हुन्छ। प्रधानमन्त्री प्रचण्डको कुरा सुनेपछि अध्यक्ष नेपालले कांग्रेस–माओवादी जसले राष्ट्रिय सभा अध्यक्ष लिए पनि गठबन्धन नभत्किने गरी सहमति गर्नुपर्नेमा जोड दिएका थिए ।

गठबन्धन भत्किएमा प्रधानमन्त्री बन्ने पालो पर्खिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष नेपालाई ठूलो घाटा लाग्ने छ।

प्रधानमन्त्री बन्ने पालो आउनै लागेका कारण गठबन्धन जोगाउन देउवाले पार्टीको महासमिति बैठकमा चलाखी अपनाएका थिए। बैठकमा महामन्त्री गगन थापाले पेश गरेको आगामी चुनाबमा गठबन्धन नगर्ने प्रस्ताव पारित गरे पनि यो प्रस्ताव शर्तसहित पारित भएको थियो। देउवाले गठबन्धनका विषयमा अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय समितिमा रहने शर्तसहित यो प्रस्ताव पारित गराएका थिए। केन्द्रीय समितिमा देउवा पक्षको स्पष्ट बहुमत छ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखक राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आउन अझै समय बाँकी भएकाले गठबन्धन दलबीच छलफल हुनै बाँकी रहेको बताउँछन्।

कांग्रेसबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा धोका पाएको भनिरहेको माओवादी कांग्रेस सभापतिको चलाखीबाट पूर्ण सन्तुष्ट हुन सकिरहेको छैन। विकल्प खोजिरहेको माओवादीले बाम गठबन्धनलाई सबैभन्दा उपयुक्त विकल्प ठान्न थालेको चर्चासमेत हुन थालेको छ।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालसँग निकटता बढाएका छन्। यसले नयाँ समीकरणको सम्भावना बढेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। तत्कालीन अवस्थामा एमाले र माओवादी इलाम र बझाङको उपनिर्वाचनमा वाम गठबन्धन बनाएर जानेसम्मको तयारीमा रहेको स्रोतको भनाइ छ।

एमाले अध्यक्ष ओलीले त यस गठबन्धनलाई खरानीको डल्लोको संज्ञासम्म दिन भ्याएका छन्। बुधबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग अध्यक्ष ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतको सत्ता गठबन्धन खरानीको डल्लोजस्तै भएको बताएका हुन्।

‘वर्तमान गठबन्धन सरकार खरानीको डल्लो हो। यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ,’ उनले भनेका थिए। उनले प्रतिगमनका लागि कांग्रेसलाई कसैले पनि साथ दिन नसक्ने बताएका थिए। कांग्रेस प्रतिगामी सोचमा अगाडि बढिरहेको उनको आरोप थियो।

‘हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि कांग्रेसले राष्ट्रपति देऊ अरू सबै लैजाऊ भनेर भन्यो। राष्ट्रपति पाएपछि कांग्रेस उत्ताउलो बनेको छ। किन उत्ताउलो बनेको हो? त्यो थाहा छैन। कांग्रेस आफ्नो हैसियत पनि बुझ्दैन। अब आउँदो निर्वाचनमा के हुन्छ त्यो थाहा छैन,’ उनले भनेका थिए। भ्रष्टाचार र विभिन्न मुद्दामा जोडिएका मन्त्रीहरूले राजीनामा दिनु पर्ने उनको भनाइ थियो। ओलीको अभिव्यक्तिले उनी सत्ता गठबन्धनभित्र खेल्न खोजिरहेको प्रस्ट हुन्छ।

सत्ता गठबन्धनमा किचलो देखिए पनि त्यो किनारा लाग्ने कांग्रेसले विश्वास व्यक्त गरेको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखक राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आउन अझै समय बाँकी भएकाले गठबन्धन दलबीच छलफल हुनै बाँकी रहेको बताउँछन्। यहिले नै यस विषयमा धेरै टिकाटिप्पणी गर्नु हतार हुने उनको भनाइ छ।

‘चुनाव नआउँदासम्म सबै दलले उम्मेदवार अगाडि सार्छौं भन्नु र निर्णय गर्नु राजनीतिक विषय हुन्। माओवादीले अगाडि सारे हामी पनि उम्मेदवार अगाडि सार्छौं। तर राष्ट्रिय सभाका नयाँ सदस्यले सपथ लिनै बाँकी छ। चुनाव आउनै बाँकी भएकाले गठबन्धनको बैठक सारेर कुरा गर्नै बाँकी छ। अहिले नै अन्तिम भइसकेको छैन। अन्तिममा कुरा गर्दा गठबन्धन दलबीच नै कुरा मिल्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ११:१३   :  बजे

477
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।