Logo

अर्थ

सरकारका कामप्रति प्रधानमन्त्री नै असन्तुष्ट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम कारबाहीप्रति आफैँले असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरुअनुसार काम हुन नसकेको बताएका हुन् ।

उनले योजना तथा कार्यक्रमहरु निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको उल्लेख गरे । उनले मनोगत ढंगबाट लक्ष्यहरु निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको पनि धारणा राखे ।

प्रधानमन्त्री दाहालले अर्थमन्त्री प्रकाशशरण महतप्रति लक्षित गर्दै मनोगत रुपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको बताए ।

‘हामीले जसरी लक्ष्य निर्धारण गर्नुपर्ने हो, त्यो लक्ष्य निर्धारण गर्ने कुरामा पनि मनोगत भएका छौं । यथार्थ धरातलसँग त्यति मिलेका छैनन् भन्नेकुरा देखियो । हामीले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने भनेर १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको देखियो’ उनले भने,’ चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै सुरु नै हुन नसक्नुले हाम्रो कार्य क्षमताामाथि नै प्रश्न उठेको छ ।’

प्रधानमन्त्री प्रचण्डले माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको बताए । उनले पुँजीगत खर्च २४ प्रतिशतभन्दा कम भएको भन्दै पुँजी निर्माण नभई विकासले गति नलिने स्पष्ट पारे । उनले सो स्थितिमा अर्थतन्त्र चलायमान नहुने जिकिर गरे ।

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  ४ : १७ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।