Logo

अर्थ

प्रभु बैंकको एउटा शाखाबाट बचतकर्ताको डेढ करोड बढी हिनामिना, सबै कर्मचारी निलम्बित



रुकुमपश्चिम- बैंकहरूको बदमासी पछिल्लो समय एकपछि अर्को गरी छताछुल्ल भइरहेको छ। त्यसमा पनि एनआईसी एसिया बैंक र प्रभु बैंकका बदमासी एकपछि अर्को गरी सार्वजनिक भइरहेका हुन्।

हालैमात्र रुकुमपश्चिमको आठबिसकोटमा रहेको प्रभु बैंकको ठूलो बदमासी बाहिरिएको छ। बैंकका एक कर्मचारीले भूकम्पपीडित र अन्य बचतकर्ताको रकम हिनामिना गरी फरार भएको घटना बाहिरिएको हो। प्रभु बैंकको आठबिसकोट शाखाका अपरेसन इन्चार्ज निरजविक्रम शाहले रकम अपचलन गरेको पाइएको छ।

हालसम्म एक करोड ७२ लाख ९८ हजार रुपियाँ अपचलन भएको पाइएको र उक्त रकम बैंकले ग्राहकलाई फिर्ता गरेको छ। उक्त रकममध्ये भूकम्पपीडितको एक करोड पाँच लाख र ग्राहकको ६७ लाख ९८ हजार रुपियाँ रहेको छ। थप रकम अपचलन भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको छ।

आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले वडा नम्बर १ र २ का भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि पठाइएको एक करोड पाँच लाख रुपियाँ हिनामिना भएको पाइएको बताए। सर्वसाधारणको रकम त्यसरी अपचलन भएपछि बैंक जवाफदेही हुनुपर्ने र उसले रकम फिर्ता गरिरहेको जानकारी दिए।

विभिन्न मितिमा बैंकमा पठाइएका तीन वटा चेकको रकम लाभग्राहीको खातामा नहालेर कर्मचारीले गैरकानुनीरुपमा दुरुपयोग गरेको पाइएको छ।

रकम हिनामिना भएको गुनासोपछि प्रभु बैंकका कर्णाली प्रादेशिक कार्यालय प्रमुख शरदराज तिमिल्सिना नेतृत्वको टोलीले आन्तरिक छानबिन गरेको थियो। छानविनमा शाहको कमजोरी पाइएकाले उनीविरुद्ध बैंकिङ कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइएको छ।

इन्चार्ज शाहले बैङ्कका खातावालाको रकम अनधिकृत रूपमा निकाल्ने, अन्य खातामा स्थानान्तरण गर्ने गरेको आरोपसहितको उजुरी दर्ता भएको छ। प्रहरीले यस विषयमा छानबिन सुरु गरेको छ।

छानबिनपछि बैङ्कले अन्य १४ जना बचतकर्ताको रकमसमेत फिर्ता गरेको जनाएको छ। बचतकर्ताको ६७ लाख ९८ रुपियाँ ग्राहककै खातामा फिर्ता गरिएको बैंकको भनाइ छ। बैंकले दिएको जानकारी अनुसार खले कामीको एक लाख, पदमकुमारी थापाको दुई लाख ५० हजार, सीता केसीको चार लाख ३८ हजार, मनबहादुर कुसारीको दुई लाख १६ हजार, कालीबहादुर बुढाको चार लाख ५० हजार, डिल्ली मल्लको छ लाख ९९ हजार र नयनसिंह ओलीको सात लाख रुपियाँ फिर्ता गरिएको छ।

यस्तै जितबहादुर खत्रीको छ लाख, रेखाकुमारी रावतको एक लाख ५० हजार, डन्डे कुसारीको आठ लाख, पिसजोन बोर्डिङ स्कुलको नौ लाख, शङ्करबहादुर पुनको १० लाख १४ हजार, दलबहादुर ओलीको एक लाख ८१ हजार र विमला ओलीको चार लाख रुपियाँ उनीहरूकै खातामा फिर्ता गरिएको छ।

नगरप्रमुख केसीले अझै दस जना सर्वसाधारणको ७५ लाख रुपियाँ बैङ्कले फिर्ता गर्न बाँकी रहेको उल्लेख बताए।

रकम अपचलन गरेको आरोप लागेका कर्मचारी शाह भने फरार छन्। माघ २० गतेदेखि बिरामी छु भनेर बिदा स्वीकृत नगरेरै शाह फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताए।

प्रभु बैंकले आठबिसकोट शाखामा कार्यरत आठ कर्मचारीलाई निलम्बन गरेको छ।

यो पनि…

प्रभु बैंकमा शेरचनको मनोमानी, ससुराकै नाममा अर्बौ ऋण प्रबाह, राष्ट्रबैक मुकदर्शक

प्रभु बैंकका सीइओ शेरचनको अर्को बदमासी, टाट पल्टिएको शिव शिखर एग्रोका नाममा झण्डै १ अर्व ऋण प्रवाह 

‘पावरफुल’ कर्मचारी रश्मी पन्तले चलाउँछिन् प्रभु बैंक, ‘सिनियर’ डेपुटी सीइओहरु निरिह

देउराली सहकारीको ५ अर्बको सम्पत्ति एक अर्बमै हडप्ने दाउमा प्रभु बैंक, बचतकर्ता चिन्तित

सिइओ अशोक शेरचनको स्वार्थले प्रभु बैंकको अर्बौँ रुपैयाँ डुब्ने जोखिममा

किन सेलायो वित्तीय अपराधमा मुछिएका अशोक शेरचनविरुद्ध सीआईबीमा पुगेको मुद्दा ?

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार १०:१४   :  बजे

4.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।