Logo

अर्थ

अर्थतन्त्र सुधार्न नीति र प्रक्रिया सुधार गर्न जरुरी छ : विष्णु पौडेल



जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति र प्रक्रिया अङ्गीकार गरे मात्रै अर्थतन्त्र सुधार हुँदै जाने बताए ।

‘एमालेले अर्थ मन्त्रालयको जिम्मा लिएका समयमा ठीक नीति र प्रक्रिया अङ्गीकार गरेकाले अर्थतन्त्र सुधार भएको देखिन्थ्यो । अहिले त्यो अवस्था छैन । अर्थतन्त्रका सबै सूचक समस्यामा छन्,’ पौडेलले भने । पूर्व अर्थमन्त्रीसमेत रहेका उनले मुलुकका समस्या समाधान र जनहितका लागि आफूहरू सबै दलसँग सहकार्यका लागि तयार रहेको बताए ।

उपाध्यक्ष पौडेलले लेनदेनका आधारमा बनेको वर्तमान सत्ता गठबन्धन आफूभित्रका समस्याका कारण लामो समय टिक्ने कुनै आधार नभएको बताए । सत्ता र शक्तिका लागि एमालेलाई कुनै चिन्ता नभएको भन्दै जनहितका लागि सदैव सरोकार राख्ने उनको जिकिर छ ।

‘हाल देखिएका समस्या समाधान गर्न एमाले सबै पार्टीसँग सहकार्य गर्न तयार छ । पद र सत्तालाई हामीले प्राथमिकतामा राखेका छैनौँ,’ पौडेलले सञ्चारकर्मीसँग बताए ।

प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार  ४ : २१ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।