Logo

अर्थ

बचतकर्ताको अपचलन गरेको एक करोड रकम फिर्ता गर्न प्रभु बैंक राजी



तस्बिर : छलफलमा सहभागीहरू।

काठमाडौं- प्रभु बैंकको एउटा शाखाले बचतकर्ताको एक करोड रकम अपचलन गरेको पाइएपछि चौतर्फि विरोध भइरहेको छ। प्रभु बैंक रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका विभिन्न बचत कर्ताको एक करोड रकम बैंकका कर्मचारीले हिनामिना गरेका थिए।

हिनामिनाको चौतर्फि विरोधपछि बैंक उक्त रकम फिर्ता गर्न तयार भएको छ। मंगलबार नगरपालिकाको रोहबरमा नगरपालिका, बैंक र पीडित पक्षबीच भएको छलफलमा १५ जना बचतकर्ताको रकम फिर्ता गर्न बैंक तयार भएको हो।

बैंक बचतकर्ताको एक करोड दुई लाख ४४ हजार नौ सय रुपैयाँ फिर्ता गर्न राजी भएको नगर प्रमुख रवि केसीले बताए। बैंकले १४ जना बचतकर्तालाई यसअघि नै ६० लाख बढी रकम फिर्ता गरिसकेको छ।

आधिकारिक पुस्ट्याइँ हुन नसकेका १५ जना बचतकर्तालाई उनीहरूको रकम फिर्ता गर्न बैंकले आनाकानी गरिरहेको थियो। तर, मंगलबारको छलफलबाट भने उक्त बचतकर्ताको हकमा फागुन २४ गतेसम्म आन्तरिक छानबिन र आवश्यक प्रक्रिया पुरा गर्ने र आवश्यक प्रक्रिया पुरा गरी सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिने सहमति जुटेको

उनका अनुसार एकै व्यक्तिले ३० लाख ८० हजार सम्म रकम फिर्ता पाउनुपर्ने छ। रोक्का गरिएका खातासमेत फुकुवा गर्ने निर्णय भएको छ। जम्मा गरिदिनु भनी दिएको रकम विभिन्न बहानामा खातामा जम्मा नगरी हिनामिना भएको बचतकर्ताहरूको गुनासो छ। छलफलमा नगरपालिकाबाट नगर प्रमुख रबी केसी, उपप्रमुख धनकुमारी शाही, तथा प्रभु बैङ्कका तर्फबाट रेणुप्रसाद पाण्डे र पीडितहरू सहभागी थिए।

बैंकको राडी शाखामा अप्रेसन इन्चार्जका रूपमा कार्यरत नीरजविक्रम शाह बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका छन्। उनी गत माघ २० गतेदेखि फरार रहेको बैंकले जनाएको छ।

उनले नै सबै हिनामिना गरेको भन्दै बैंकले उनीविरुद्ध एक करोड ३३ लाख २५ हजार हिनामिनाको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा जाहेरी दिएको छ।

प्रकाशित मिति : फाल्गुन २३, २०८० बुधबार  ९ : ४४ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।