Logo

प्रमुख समाचार

संसदमा कांग्रेसले भन्यो : प्रधानमन्त्रीले जनमतको अपमान गरे, राजनीतिक बेइमानी हुन्



काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतको अपमान गरेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले एकतर्फी रुपले अविश्वसनीय रुपमा गठबन्धन तोडेको र कांग्रेसमाथि विश्वासघात गरेको आरोप लगाए।

२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेको भन्दै नेता लेखकले त्यतिबेला गरेको प्रतिज्ञा बेवास्ता गरेर प्रधानमन्त्रीले कांग्रेसप्रति कुठाराघात गर्दै राजनीतिक बेइमानी गरेको बताए।

निर्वाचनमा प्रतिवद्धता गरेर अहिले गठबन्धन भत्काउनु जनमतको पनि घोर अपमान भएको उनको भनाइ छ। ‘आफ्नो जिम्मेवारीबाट भाग्ने। गठबन्धन भत्काउने। अविश्वसनीय काम गर्ने प्रधानमन्त्रीको भूमिकालाई कठोरतापूर्वक भन्नैपर्‍यो यो राजनीतिक बेइमानी हो,’ उनले भने।

व्यक्तिगत रुपमा आफूले प्रचण्डलाई आदर गर्ने भन्दै प्रमुख सचेतक लेखकले तर उनमा राजनीतिक इमान नदेखिएको बताए।

‘यो व्यक्तिगत सम्बन्धमा आधारित भएर गरिएको निर्णय होइन, आज पनि मेरा आदरणीय नेता प्रचण्डप्रति उत्तिकै सम्मान छ। तर राजनीतिक रुपमा इमान भएन, इमान नभएको हुनाले बेइमान भनिएको हो’, उनले भने।

कांग्रेससँगको गठबन्धन भत्काउने प्रधानमन्त्रीको निर्णयले मुलुकलाई शृंखलावद्ध अस्थिरतातिर जाने खतरा देखिएको उनले बताए।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १३:३५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।