Logo

अर्थ

नारायणगढ बुटवल सडकखण्ड र हुलाकी राजमार्गको कामलाई तीब्रता दिन निर्माण कम्पनीलाई दवाव



नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै उनले विकास आयोजना निर्माण कार्यमा विलम्ब नगर्न निर्देशन दिएका हुन् ।

पश्चिम नवलपरासी जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका विषयमा उनले सरकारी निकाय, स्थानीय तह र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । उक्त छलफलमा उनले भने, विकास परियोजना सम्पन्न गर्न सरकारकातर्फबाट गर्नुपर्ने सहजीकरणमा हामीले निरन्तर समन्वय गर्दै आएका छौं । स्थानीय तह होस् वा प्रदेश सरकार, त्यहाँ पनि हाम्रातर्फबाट निरन्तर समन्वयको काम भइरहेको छ । तर के कारणले आयोजनाहरुको काम अपेक्षाकृत हुन सकेको छैन । यसमा गम्भीर बन्न जरुरी छ ।

नवलपरासी १ बाट प्रतिनिधिभा सदस्य निर्वाचित सांसद चौधरीले नारायणगढ बुटवल सडकखण्ड र हुलाकी राजमार्गको कामलाई तिब्रता दिन जोड दिए । हाम्रोतर्फबाट कहाँ कहाँ सहजीकरण गर्नुपर्छ, म तयार छु तर अब विभिन्न वाहानामा काम ढिलासुस्ती गर्ने छुट कसैलाई छैन, उनले प्रष्ट पारे ।

उनले परियोजना सम्पन्न गर्ने मिति नै निश्चित गरेर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । नवलपरासीबाट निर्वाचित भएपछि सांसद चौधरीले जिल्लाको विकासका लागि सरोकारवालासँग निरन्तर छलफल गर्दै आएका छन् । उनले विकासका कामलाई गति दिन सबै पक्षसँग आयोजनाको प्रगति र समस्याका बारेमा पनि सरोकारवालासँग छलफल गर्ने गरेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डको काममा भइरहेको सुस्तताप्रति उनले असन्तुष्टि जनाए । विगत सात बर्षदेखि काम थालिएको हुलाकी सडकको काम वर्षाैंदेखि धिमा गतिमा भइरहेको छ । बुटवल नारायगण सडक खण्डको काम पनि उस्तै छ, सांसद चौधरीले भने, ‘अब एकले अर्कालाई आरोप लगाएर हुँदैन । सबैले जिम्मेवारीवोध गरेर अगाडि बढौं ।’

बुटवल नारायणगढ सडकखण्डको काम पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकादेखि सुनवल नगरपालिकासम्म करिब ४७ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ ।

निमार्ण व्यवसायीका प्रतिनिधिहरुले आवश्यक निमार्णजन्य सामाग्री र नदीजन्य सामाग्रीको अभावका कारण काममा ढिलाई भएको गुनासो गरेका थिए । तर स्थानीय तहका जनप्रतिधि र सरकारी अधिकारीहरुले पनि निर्माण व्यवसायीहरुले विभिन्न बहाना बनाएर काम नगर्ने गरेको आरोप लगाए । सांसद चौधरीले भने नवलपरासीको विकासका लागि व्यवस्थित खाका बनाएर अगाडि बढेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार १५:२८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।