Logo

प्रमुख समाचार

नारायण दाहाल को हुन् र उनी प्रचण्डका कति निकट भाइ हुन्?



काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका नारायण प्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन्।

दाहाललाई ३९ मत प्राप्त भएको थियो। दाहाललाई नेकपा एमाले, माओवादी, एकीकृत समाजवादी, जसपालगायत दलको समर्थन थियो। सांसद बामदेव गौतमले पनि दाहालको पक्षमा मतदान गरेका थिए।

निर्वाचनमा पराजित शर्माको पक्षमा १७ मत परेको छ। उनलाई कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मत दिएको हो। कांग्रेसका १६ र लोसपाका एक सांसद छन्।

सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा कुल ५६ जना सदस्य उपस्थित भएकोमा दाहालको पक्षमा ३९ मत विपक्षमा १७ मत खसेको घोषणा गरेकी थिइन्।

२०१२ साल चैत ६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका दाहाल पुराना वामपन्थी नेतामा पर्छन्। निष्ठाका साथ सक्रियरूपमा पार्टीमा लामो समयदेखि आवद्ध रहेको नेताका रूपमा उनलाई माओवादीले लिने गरेको छ।

उनी बुबा स्व.कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालको पहिलो सन्तान हुन्। २०१९ सालमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परिवारसँगै उनको परिवार पनि चितवनको शिवनगरमा सरेको थियो। प्रचण्ड र नारायणका हजुरबा दाजुभाइ हुन्। त्यसैले माओवादीले राष्ट्रिय सभा अध्यक्षमा उम्मेद्वार बनाउँदा नारायणलाई प्रचण्डको भाइ भएको भन्दै चर्को आलोचना भएको थियो।

सहोदर भाइ नभएता पनि नारायण दाहालले प्रचण्डलाई हरेक कुरामा साथ दिँदै आएका थिए। त्यसैले प्रचण्डले उनलाई शान्ति प्रक्रियामा आएपछि सांसदमा मनोनित गर्न छुटाएका थिएनन्। संविधान जारी भएपछि ०६४ को चुनाव जितेर उनी तल्कालीन चितवन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य बने। ०७० को चुनावमा भने उनी पराजित भए ।

प्रचण्ड पहिलोचोटि प्रधानमन्त्री भएका बेला उनी प्रशासनिक सल्लाहकार बनेका थिए। त्यसबेला उनले कर्मचारीहरूको सरुवामा चलखेल गरेको आरोप छ। उनी सल्लाहकार हुँदा छोरा समिर दाहाल पनि प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत थिए।

६७ वर्षीय दाहालका १ छोरी र २ छोरा छन्। उनकी श्रीमती क्यासर रोगी रहेको माओवादीका चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी बताउँछन्। उनी पार्टी जीवन र सिद्धान्तप्रति प्रतिबद्ध मान्छे भएको अधिकारीको दाबी छ।

सङ्कटकालका बेला भारतका साथै जाजरकोट र सुर्खेत बसेर दाहालले काम गरेको माओवादी नेताहरु बताउँछन्। शान्ति प्रक्रियापछि दाहाल केही समय कास्कीको पार्टी इञ्चार्ज बनेका थिए। त्यस्तै, बागमतीको अध्यक्ष, सचिव र सह–इन्चार्ज समेत भएका थिए।

०७८ मा राष्ट्रियसभा सदस्यमा मनोनीत बनेका उनी २०८४ सम्म अध्यक्षमा कायम रहनेछन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १३:४८   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।