Logo

अर्थ

अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँ : डा महत



ललितपुर । निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताएका छन् ।

मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. महतले आफूले जिम्मेवारी सम्हालेयता अर्थतन्त्रमा हदैसम्म्को सुधार गरेको दाबी गरेका हुन् ।

“मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियो, मेहनतका साथ लयमा ल्याएका थियौँ । नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट हुन्छ”, उनले भने, “अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित छ ।”

डा महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीति खुकुलो बनाइएकाले पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएको बताए । “कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाएपछि बैंकको ब्याजदर घट्दो छ भने लगानीको वातावरण पनि बन्दै गएको छ”, उनले भने  “अर्थतन्त्र सकारात्मक लयमा रहेका कारण पुँजीबजार, घरजग्गाको कारोबार र पर्यटन व्यवसायले गति लिएको छ ।” उनले गत आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन १० प्रतिशतले बढ्नु सन्तोषजनक रहेको पनि बताएका थिए ।

डा महतले न्यून बजेट विनियोजनमा बहुवर्षीय ठेक्का दिने चलनले बजेटरी प्रणालीमा समस्या सिर्जना गरेको उल्लेख गर्दै राजस्व मुलुक र जनताको प्राथमिकतामा मात्रै खर्च गरिनुपर्छ भन्ने मान्यता स्थापित गरेको बताए ।

प्रकाशित मिति : फाल्गुन २९, २०८० मंगलबार  ४ : २३ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।