Logo

प्रमुख समाचार

गठबन्धनमा माधवलाई पनि प्रधानमन्त्री बनाउने लिखित सहमति भएको हो?



काठमाडौं- नयाँ गठबन्धन बनेसँगै विभिन्न विषयमा चर्चा परिचर्चा भइरहेका छन्। यहीबीच १५/१५ महिना सरकारको नेतृत्व गर्ने विषयमा सत्ता गठबन्धनका शीर्ष तीन दलका नेताहरूबीच सहमति भएको विषयले चर्चा पाइरहेको छ।

नयाँ गठबन्धन बन्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच १५/१५ महिना पार्टीको नेतृत्व गर्ने सहमति भएको विषय बाहिरिएको छ। नेकपा एसका नेता मेटमणी चौधरीले १५/१५ महिनामा सरकार फेर्नेगरी शीर्ष नेताहरूबीच सहमति भएको उनले बताए।

यता एमालेका नेताहरूले भने यस विषयमा कुनै लिखित सहमति नभएको बताएका छन्। नेकपा एमालेका सांसद तथा सचिव योगेश भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म वर्तमान सरकार कायम रहने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कायम रहने बताए।

अहिलेको संसदको लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको उनको दाबी छ। अब अर्को सरकार बनाउन एमालेले कोसिस नगर्ने उनले प्रस्ट पारे। एमालेको समर्थनमा आज १५७ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मतमा मत दिएका छन्।

सरकारले मुलुकमा व्याप्त समस्याको सकारात्मक निकास दिने विश्वास व्यक्त गरे। सरकारले जनतामा भएको निराशालाई आशामा बदल्ने उनको भनाइ छ। ‘अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्ने। अर्थतन्त्रलाई सन्तुलित बनाउने। र, अन्य कतिपय सामाजिक, आर्थिक समस्यालाई हल गर्ने र संसद्बाट आवश्यक विधेयक संसद्मा टेबुल गर्ने, त्यसलाई पास गर्ने र विशेष गरी संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायतका संघीयताका कार्यान्वयनसँग सम्बन्धित ऐनहरूलाई छिटोभन्दा छिटो संसद्बाट अगाडी बढाउने हो। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षबाट टुंग्याउने,’ उनले भने।

यस्तै एमालेकै नेता सूर्य थापा माधव नेपाललाई प्रधानमन्त्री बनाउने भन्नेबारे नयाँ गठबन्धनमा कुनै लिखित सहमति नभएको दाबी गर्छन्।

उनले आफूहरूले आफ्नो अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी गरिरहेको स्मरण गराउँदै पावर सेयरिङबारे कुनै लिखित सहमति नभएको जिकिर गरे। उनले अहिले प्रधानमन्त्री, राष्ट्रियसभाको उपाध्यक्ष र एक मुख्यमन्त्री बनाउने विषयमा कुनै सहमति नभएको स्पष्ट पारे।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १३:३६   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।