Logo

प्रमुख समाचार

राजनीतिका अब्बल खेलाडी देउवाको गठबन्धन भत्काउने दाउ सफल होला?



काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन्। कम बोल्ने तर कुटनीतिपूर्ण राजनीति गर्ने उनको शैली उनीमा छ। निडर र हक्कि स्वभावको नेताका रूपमा पनि उनी चिनिन्छन्।

डडेलधुराको साविक अशोकग्राम गाविस वडा नम्बर ५ मा वि.सं. २००४ साल जेठ ३० गते जन्मिएका शेरबहादुर देउवा पाँच पटक नेपालको प्रधानमन्त्री बनेका छन्। उनको हाल काठमाडौंको बूढानीलकण्ठमा बसोबास रहेको छ।

देउवाले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। आफ्नो राजनीतिक जीवनमा आलोचकबाट देउवाले ‘प्रजातन्त्र दरबारलाई लगेर बुझाएको’ भन्ने आरोप खेप्ने गरेका छन्। कांग्रेसीले भने देउवालाई सफल कूटनीतिज्ञसँगै स्पष्ट वक्ताको रुपमा परिभाषित गर्छन्।

देउवाको राजनीतिक जीवन निकै लामो छ। २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले राजनीतिक यात्रा सुरु गरेका हुन्। उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बने। पञ्चायतविरोधी राजनीति गर्दा देउवामा पटक-पटक जेल परेका छन्।

त्यस्तै राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि उनीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो। त्यसबेला उनी केही समय जेल परेका थिए। आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएको उनले बताउँदै आएका छन्।

२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेका थिए। २०४८ सालमा डलेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्‌मा प्रमुख प्रतिपक्षी दलको नेता बने। २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए।

२०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो। २०५६ सालमा डडेलधुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरे।

त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे। तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए।

त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो। उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो। तर पछि सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि उनी छुटेका थिए।

गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए। २०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भयो।

नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुन: चौथो पटक प्रधानमन्त्री बनेका थिए। उनकै पालामा नेपालमा नयाँ संविधान लागु भएपछिको पहिलो आम निर्वाचन सम्पन्न भएको थियो। २०७८ असार २९ गते मंगलबार देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री बनेका थिए।

यसरी पाँच पटक प्रधानमन्त्री बनेका देउवाले कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। नेपाली कांग्रेसमा वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालापछि दोस्रो तहका नेताहरू धेरै छन्। धेरै सबैलाई उछिन्दै शेरबहादुर देउवा ५/५ पटक प्रधानमन्त्री बन्न सफल भए।

देउवाले विगतमा आफू प्रधानमन्त्री भएका बेला जनजाति आयोग, दलित आयोग, कमैया मुक्ति, भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य गरी समाज सुधारमा महत्वपूर्ण भूमिका खेलेका थिए।

देशमा माओवादी जनयुद्ध चर्किइरहेको थियो, त्यसबेला गिरिजाप्रसाद कोइराला माओवादीप्रति कठोर थिए भने देउवा वार्ताप्रति सकारात्मक भएका कारण माओवादीहरू उनीसँग नरम थिए। तर, माओवादी- देउवा सम्बन्ध निकै उतार चढावपूर्ण रह्यो।

शेरबहादुर देउवा वीपी कोइरालाजस्तै गरी राजाबाट गलहत्याइएका पात्र हुन्। तर, प्रचारचाहिँ कस्तो भयो भने मानौं राजाले गल्ती गरेका होइनन्, देउवा नै दोषी हुन्।

यसरी राजनीतिक जीवनमा थुप्रै उतारचढाव झेल्दै आएका देउवा धेरै बोल्दैनन्। आफूले बोलेको मानिसहरूले बुझ्दैनन् भन्नेमा उनी सचेत छन्। त्यसैले उनी कम बोल्छन्।

निकटस्थहरू देउवालाई निकै दिलदार र सहयोगी व्यक्तिका रूपमा चिन्छन्। उनी कुरामा हठ राखेर बस्दैनन्। समय अनुसार आफूलाई परिवर्तन गर्न सक्ने उनमा खुवी छ।

यसरी राजनीति गर्दै आएका देउवा यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका पाएर रन्थनीयका छन्। चलिरहेको सत्ता गठबन्धनलाई टुटाएर प्रचण्डले एमालेसँग सत्ता समिकरण गरेछि देउवा रुष्ट बनेका हुन्।

गतसाल ०७९ पुस १० गते कांग्रेससँगको गठबन्धन छाडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहाल फेरि एकपटक एमालेसँग जोडिएका छन्।

राजनीतिका खरा खेलाडी देउवा यतिबेला माओवादीले धोका दिएको भन्दै नयाँ गठबन्धन बनाउने मोडमा छन्। उनी त्यसका लागि एमालेसँग मिल्न सक्ने धेरैको आसंका छ। अब कांग्रेस कसरी अगाडि बढ्छ भन्ने कुरा चाहिँ हेर्न बाँकि नै छ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार १३:२९   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।