काठमाडौं- सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
अन्सारीको उपचारको क्रममा आज मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको थियो।
२०२० साल माघ १९ गते जन्मएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन्।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन्।
सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन्।
२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन्। उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन्।
आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सदन सामु प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा राखिएको थियो।
यस्तै,२०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा भैरहेको छलफलको क्रमलाई निरन्तरता दिइने संघीय संसद सचिवालयले जनाएको थियो। बैठक स्थगित भएसँगै अब यी विषयले अर्को बैठकमा प्रवेश पाउने छन्।




















प्रतिक्रिया