काठमाडौं- सुन तस्करीमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीको जिम्मेवारीबाट अलग गर्नुपर्ने माग उठेको छ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको थियो। अनुसन्धान चलिरहेकाले सफाइ नपाएसम्म उनलाई निलम्बन गर्नुपर्ने माग पार्टी भित्र आवाज उठेको हो।
पदाधिकारी बैठकमा उपाध्यक्ष महराको विषयमा छलफल भएको र कुरा उठेको एक नेताले बताए। तर प्रवक्ता अग्नी सापकोटाले भने छलफल जारी रहेकाले ठोस निर्णय हुन बाँकी रहेको बताए।
सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरा पक्राउ परेपछि यस विषयमा मंगलबारको बैठकमा विविध कोणबाट बैठकमा छलफल भएको उनले बताए।
आज प्रधानमन्त्री प्रचण्ड संसद्मा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृतमा छलफल हुन नपाएको भन्दै सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए।
सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई सोही दिन भैरहवा विमानस्थल हुँदै काठमाडौं ल्याइएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को नियन्त्रणमा रहेका उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ ।




















प्रतिक्रिया